काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीको सेयरमा लगातार १२ औं दिन पोजेटिभ सर्किट लागेको छ । वैशाख २० गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयरमा लगातार १२ दिन सर्किट लागेर मूल्य तेब्बर बढी भएको छ ।
यससँगै रुरु नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने हाइड्रोपावर कम्पनी बनेको छ ।३५६ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य १२ कारोबार दिनमै तीन गुणा धेरैले बढेर आज प्रतिकित्ता १०६४ रुपैयाँ पुगेको छ ।
कारोबारमा आएदेखि कम्पनीको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको छ । रुरु नेप्सेमा सूचीकृत ३४ हाइड्रोपावर कम्पनीमध्ये १ हजार माथि सेयर मूल्य हुने एकमात्र हाइड्रोपावर कम्पनी हो ।
यसअघि अपर तामाकोशी र माउन्टेन इनर्जी धेरै मूल्य हुने हाइड्रोपावर कम्पनीका रुपमा थिए । दुवै कम्पनीलाई पछिपार्दै रुरु धेरै मूल्य हुन हाइड्रोपावर बनेको हो । आज १२ बजेसम्म माउन्टेनको सेयर प्रतिकित्ता ८५० रुपैयाँ र तामाकोशीको ८५२ रुपैयाँमा कारोबार भइरहेको छ ।
अझै रुरुको सेयरको माग उच्च र सप्लाइ अत्यन्त कम भएकाले मूल्य अझै बढ्ने देखिन्छ । कम्पनीले चैत २० देखि अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरले ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।जसमा ३७ हजार ९१६ हजारले गोलाप्रथाबााट १० कित्ताका दरले सेयर हात पारेका थिए भने ७ जनाले थप १ कित्ता पाएका थिए ।
कम्पनीले गुल्मीको चन्द्राकोट गाउँपालिकामा ५ मेगावाटको माथिल्लो हुग्दी खोलामा जलविद्युत् आयोजना निर्माण गरी संचालनमा समेत ल्याइसकेको छ । यसको कुल लाागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।