जीवन बीमा कम्पनीहरुमा पुरानाकै दबदबा, कुनको कस्तो छ वित्तीय अवस्था (तथ्यांकसहित)

काठमाडौं । चालू आर्थिक वर्षमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत सबै जीवन बीमा कम्पनीहरुको खुदा नाफा वृद्धि भएको छ ।

 

नेप्सेमा सूचीकृत १० वटा जीवन बीमा  कम्पनीहरुको खुद नाफा औसतमा ३५.८० प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब ११ करोड खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४१ करोड अर्थात् २३.८० प्रतिशत बढी हो । गत वर्षको तेस्रो त्रैमाससम्म यी कम्पनीहरुले जम्मा १ अर्ब ७० करोड खुद नाफा कमाएका छन् ।

 

चालू आवमा सूचीकृत जीवन बीमा कम्पनीले औसतमा २१ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा जीवन बीमा कम्पनीहरुको औसत नाफा १७ करोड ७ लाख रुपैयाँ थियो ।

 

खुद नाफा धेरै वृद्धि गर्नेमा पुराना कम्पनीहरु अघि रहेका छन् । नयाँ जीवन बीमा कम्पनीहरुमा प्रभु लाइफले १४८ प्रतिशतले नाफा बढाउन सफल भए पनि ज्योति र रिलायन्सले न्यून मात्र नाफा बढाउन सफल भएका छन् ।

 

समीक्षा अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै ५० करोड नाफा कमाएके छ भने रिलायन्सले सबैभन्दा कम ६ करोड ५८ लाख खुद नाफा कमाएको छ ।

 

अधिकांश सूचकमा नेपाल लाइफको अग्रता

 

सूचीकृत १० वटा जीवन बीमा कम्पनीहरु मध्ये अधिकांश सूचकमा नेपाल लाइफले आफ्नो वर्चश्व कायमै राखेको छ । समीक्षा अवधिमा नेपाल लाइफ सबैभन्दा धेरै नाफा कमाउने, धेरै चुक्ता पूँजी, रिजर्भ कोष, प्रिमियम संकलन, सर्वाधिक जीवन बीमा कोष हुने कम्पनीको अग्र स्थानमा रहेको छ ।

अधिकांश सूचकमा नेपाल लाइफले लिड गर्दा पुराना कम्पनीहरुले पछ्याउन सकेको देखिदैन भने नयाँ कम्पनीहरुले अन्य पुराना कम्पनीहरुलाई खासै टक्कर दिन सकेको देखिँदैन ।

 

चालू आवमा १० कम्पनी कुल २ अर्ब अर्ब ११ करोड बढी नाफा कमाउँदा नेपाल लाइफ एक्लैले ५० करोड बढी नाफा कमाएको छ । यो कुल नाफाको झन्डै २४ प्रतिशत हो ।

 

बीमा शुल्क आर्जनमा नेपाल लाइफको मात्रै ३८ प्रतिशत हिस्सा

 

खुद नाफामा जस्तै बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफले अन्य कम्पनीहरुलाई धेरै पछि पारेको छ । समीक्षा अवधिमा १० जीवन बीमा कम्पनीहरुले कुल ६६ अर्ब ३१ करोड खुद बीमाशुल्क आर्जन गरेका छन्। त्यसमा नेपाल लाइफले मात्रै २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो कुल बीमा शुल्कको करिब ३८ प्रतिशत हिस्सा हो ।

यस्तै, बीमा शुल्क आर्जनमा नेपाल लाइफपछि एलआइसी नेपाल रहेको छ । एलआइसीले समीक्षा अवधिमा कुल बीमा शुल्कको २० प्रतिशत अर्थात् १३ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गररेको छ ।

 

बीमा शुल्क आर्जनमा नयाँ बीमा कम्पनी भने कमजोर देखिएका छन् । कुल बीमा शुल्कको ज्योतिले ३ प्रतिशत, रिलायन्सले साढे २ प्रतिशत र प्रभुले २ प्रतिशत मात्र हिस्सा ओगटेका छन् । ज्योतिले २ अर्ब २१ करोड, रिलायन्सले १ अर्ब ८४ करोड र प्रभुले १ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिसेयर आम्दानीमा भने सूर्या लाइफको अग्रता

अन्य अधिकांश सूचकमा नेपाल लाइफको अग्रता रहे पनि प्रतिसेयर आम्दानीमा भने सूर्या लाइफ शीर्ष स्थानमा रहेको छ । सूर्याको प्रतिसेयर आम्दानी नेपाल लाइफको भन्दा झन्डै दोब्बर अर्थात् १७.१५ रुपैयाँ रहेको छ । जबकी नेपाल लाइफको ९.३८ रुपैयाँ मात्रै छ ।

 

यस्तै, ३ कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ माथि रहेको छ । नेशनलको १२.६८ रुपैयाँ, प्राइमको १२.६१ रुपैयाँ र एशियनको १२.०८ रुपैयाँ रहेको छ ।

 

यस्तै, नेपाल लाइफ, एलआईसी नेपाल, प्रभु लाइफको प्रतिसेयर आम्दानी ९ रुपैयाँभन्दा बढी रहेको छ। रिलायन्स लाइफको सबैभन्दा कम ४.१७ रुपैयाँ रहेको छ ।

 

नेपाल लाइफको जगेडा कोष १ अर्ब माथि

 

जगेडा कोषका आधारमा पनि नेपाल लाइफ सबैभन्दा बलियो कम्पनीको रुपमा रहेको छ । गत वर्षको तुलनामा जगेडा कोष करिब ५० प्रतिशतले घटे पनि नेपाल लाइफ अझै धेरै जगेडा कोष हुने कम्पनीको रुपमा रहेको छ ।

समीक्षा अवधिसम्म नेपाल लाइफको जगेडा कोषमा १ खर्ब १२ करोड रुपैयाँ रुपैयाँ छ । यस्तो दोस्रो धेरै रिजर्भ कोष हुनेमा नेशनल लाइफको ८१ करोड १७ लाख रुपैयाँ संचित छ ।

 

यस्तै, सूर्य लाइफको ८० करोड ८५ लाख, प्राइमको ६२ करोड ५८ लाख र एलआइसीको ६१ करोड १४ लाख संचित रहेको छ । नयाँ कम्पनीहरु रिलायन्स र प्रभु भने जगेडा कोषमा पनि कमजोर देखिएका छन् । रिलायन्सको जगेडा कोष सबैभन्दा कम २० करोड ५७ लाख रुपैयाँ रहेको छ ।

 

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन Read Previous

स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटो र छरितो बनाउन निर्देशन

१२ दिनमै रुरुको सेयर मूल्य तेब्बर, बन्यो सबैभन्दा महँगो मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ? Read Next

१२ दिनमै रुरुको सेयर मूल्य तेब्बर, बन्यो सबैभन्दा महँगो मूल्य हुने हाइड्रो कम्पनी, कति पुग्यो भाउ ?