बनेपा । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमण उच्च सङ्ख्यामा रहेको बनेपा नगरपालिकामा आज रातिदेखि ‘सिल’ गरिने भएको छ ।
स्थानीय जनप्रतिनिधिलगायत कोभिड–महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर सिल गर्ने निर्णय गरेको हो ।
कारोना सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए।
उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र सिल गर्ने निर्णय गरिएको हो । “औषधि पसल र अस्पतालबाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ”, वादेले भने ।
नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत उल्लेख गरिएको छ ।
साथै सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ । जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।