घाटा थेग्नै नसक्ने अवस्थामा निगम, पाक्षिक ११० करोड नोक्सानी, किन जाँदैछ निरन्तर घाटामा ?

काठमाडौं । महिनाको कम्तीमा दुई पटक पेट्रोलियम पदार्थको भाउ बढाउँदै आए पनि नेपाल आयल निगमको घाटा झनै चुलिँदै गएको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावका कारण निगमकाे घाटा झन्झन बढ्दै गएको हो ।

 

दुई महिना अघि पाक्षिक ८० करोड नोक्सानी व्यहोर्दै आएको निगमको अहिले त्यस्तो घाटा पाक्षिक ११० करोड पुगेको निगमले जनाएको छ । हरेक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ बढाए पनि अन्तर्राष्ट्रिय बजारमा भाउ आकाशिएकाले घाटा बढ्दै गएको निगमले जनाएको छ ।

 

विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ । आइओसीले प्रत्येक अंग्रेजी महीनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

 

पछिल्लो मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर प्रतिलिटर पेट्रोल ८.५६ रुपैयाँ, डिजेलमा ४.४६ रुपैयाँ, ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा रहेको दाबी गरिएको छ ।

 

पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ११० करोड रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा ५४ करोड रुपैयाँ घाटा पुग्ने अनुमान गरिएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा घाटा रहे पनि मट्टितेल र हवाई इन्धनमा भने केही नाफा रहेको छ ।मट्टितेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमको घाटा पूर्तिमा त्यसले उल्लेख्य हिस्सा ओगट्न सकेको छैन ।

 

हाल पेट्रोल, डिजेल तथा हवाई इन्धनको आन्तरिक खपत न्यून भए पनि एलपी ग्यासको खपत भने सामान्य अवस्थाको जस्तै छ । जसले एलपी ग्यासको नोक्सान परिपूर्तिसमेत हुने अवस्था नरहेको निगमको भनाइ छ ।

 

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ ।

 

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य अझ बढी रहेको छ । भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३०.४७ रुपैयाँ र डिजल प्रतिलिटर ३६.६३ रुपैयाँले नेपालतर्फ सस्तो रहेको छ ।

 

अहिले सरकारले पेट्रोलियम पदार्थमा लागत मूल्यको शतप्रतिशतभन्दा बढी कर लगाउँदै आएको छ । सरकारलाई करको दर घटाउन लगाएर मूल्य स्थिर गर्नुपर्ने मागसमेत बेलाबेलामा उठ्ने गरेको छ ।

 

भारतमा भन्दा नेपालमा इन्धनको मूल्य कम हुनु तथा खुला सिमानाका कारण भारततर्फ चोरी निकासी हुने सम्भावना रहेकाले पनि निगम मूल्य समायोजन गर्नैपर्ने दबाबमा छ ।

 

मूल्य स्थिरीकरण कोष निष्प्रभावी

 

अन्तर्राष्ट्रिय बजारको मूल्यमा भएको सामान्य उतारचढावको कारणले मूल्यमा पार्नसक्ने प्रभाव हटाउन निगमले मूल्य स्थिरीकरण कोषको व्यवस्था गरेको थियो । अहिले सो कोषमा करिब ९ अर्ब बचत रहेको छ तर तत्काल यो कोषको प्रयोग निष्प्रभावी छ ।

 

निगमले प्रशासनिक खर्चवापत पेट्रोलियम पदार्थमा प्रतिलिटर ०.६८ पैसा तथा ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ १८ पैसा मात्र लिँदै आएको छ । यो मूल्यले समग्र मूल्य प्रणालीमा ठूलो असर नगर्ने कार्यकारी निर्देशक पौडेलको दाबी छ ।

 

८ वर्षअघिको झझल्को

 

त्यसो त अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको यो नै पहिलो घटना भने होइन । करिब सात वर्षअघि यसरी नै मूल्य निरन्तररूपमा बढ्दै गएको थियो । नेपालमा २०७० फागुनमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्चतम विन्दुमा पुगेको थियो ।

 

त्यो समयमा पेट्रोलको मूल्य १४० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०९ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिक)को मूल्य १४३ रुपैयाँ तथा हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिकिलोलिटर १ हजार ४०० अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४७० प्रति सिलिन्डर थियो । यो मूल्य कायम हुँदा अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड आयल’को मूल्य १४८.९३ अमेरिकी डलर प्रतिब्यारेल थियो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Previous

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

बैंकर्सलाई कोरोना लागेपछि एकसाताका लागि सबै बैंक बन्द Read Next

बैंकर्सलाई कोरोना लागेपछि एकसाताका लागि सबै बैंक बन्द