काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापीटलले भर्चुअल माध्यमबाट कार्यक्रम गर्दै कम्पनीको आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये ४ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । १४ लाख ५१ हजार ४३२ जनाको हात रित्तो भएको छ ।
कम्पनीले वैशाख १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
उक्त आइपीओमा १६ लाख ८५ हजार ६२७ जनाले २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ताका लागि आवेदन दिएका थिए । सोमध्ये ६१ हजार ३७२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।
कहाँबाट हेर्ने रिजल्ट ?
यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर, विक्री प्रबन्धक सनराइज क्यापिटल र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।