गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडान सम्पन्न, निषेधाज्ञा खुल्नसाथ परीक्षण उडान हुने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ । लगभग निर्माण सकिएसँगै विमानस्थलमा उडान परीक्षणको अन्तिम तयारीमा गरिएको छ ।

 

कोभिडका कारण निषेधाज्ञ भएकाले उडानहरु बन्द हुँदा उडान परीक्षणको काम रोकिएको आयोजनाले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रविन न्यौपानेका अनुसार आईसीबी ओटुमा उपकरण जडानको काम सकिसकेको छ । जडानको काम सबै सकिसकेकाले अब उडान परीक्षणको काम मात्र बाँकी रहेको उनले बताए ।

 

उडान परीक्षणका लागि विशेष फ्लाइट ल्याउनु पर्ने भएकाले विमानस्थलहरुमा उडान बन्द हुँदा सो परीक्षणको काम रोकिएको उनले बताए । ‘जडानको काम सबै सकिसकेको छ, उडान बन्द भएकाले उडान परीक्षण टेष्ट गर्न सकिएको छैन, उडान परीक्षण टेष्ट भएपछि उडान शुरु गरिने छ,’ आयोजना प्रमुख न्यौपानेले चाणक्य पोष्टसँग भने ।

 

उक्त परीक्षणका लागि विदेशबाट छुट्टै जडाज ल्याउनु पर्ने हुन्छ । त्यसका लागि विदेशबाट उडानको परमिट लिनु पर्ने हुन्छ भने परमिट स्वीकृत हुनका लागि १ साता जति लाग्ने उनले बताए ।

 

सरकारले विमानस्थलको उडान खुल्ला गरेको २ साता भित्र उडान परीक्षण गरेर विमानस्थल सञ्चालनमा ल्याइने न्यौपानेको दाबी छ । विमानस्थल निर्माणको सबै काम सकिसकेको छ भने अब उडान परीक्षण सफल भएपछि विमानस्थल सञ्चालनमा ल्याइने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उडानका लागि इन्टरनेशनल सिभिल कर्पोरेशनसँग छलफल हुने र सो स्वीकृती पछि उडान गरिने बताए ।

उनका अनुसार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एसोसिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संचना निर्माणको काम सकेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावरको काम सकिएको हो ।

 

विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्याण्डले पाएको थियो । जडानको काम थाइ जनशक्ति र चिनीया जनशक्तिले गरेका थिए । यस अघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०२१ जनवरीमा सञ्चालन गर्ने तयारी रहेको थियो ।

 

विमानस्थल निर्माण २ चरणमा भइरहेको छ । आईसिबी १ र आइसीबी २ गरी दुई चरणमा काम भइरहेको छ । भ्याटसहित ६ अर्ब ८२ करोडको रुपैयाँ आइसीबी १ को बजेट रहेको छ । आइसीबी २ को बजेट ५० करोड रुपैयाँ रहेको छ । शुरुमा आइसीबी १ का लागि ६ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

कुल सबा ७ अर्बमा निर्माणधीन अवस्थामा रहेको छ । कुल बजेटको ६३ प्रतिशत खर्च भएको छ । मुआब्जाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ बजेट रहेकोमा २१ अर्ब ७५ करोड रुपैयाँ मुआब्जा रकम भुक्तानी गरिसकिएको छ ।

 

यस विमानस्थलमा ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग बनेको छ । यो आयोजना २०१५ मा निर्माण शुरु भएको थियो । सन् २०१८ डिसेम्बरमा सक्ने लक्ष्य राखिएको आयोजनाले विविध कारण ढिलाइ भएको हो ।

 

विभिन्न अवरोध बाबजूद विमानस्थल २०१९ सम्ममा सञ्चालनमा ल्याउने भनिएको थियो । फेरि पछि २०२० मार्चसम्मका लागि म्याद थप गरिएको थियो । गतवर्ष लक डाउनका कारण निर्माणले गति लिन सकेको थिएन । यो पटक अन्तिम चरणमा पुगेको विमानस्थलको काम फेरि निषेधाज्ञले उडान परीक्षण रोकेको छ ।

चम्किँदै सेयर बजार, यी ७ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

चम्किँदै सेयर बजार, यी ७ कम्पनीका लगानीकर्ता मालामाल

शुक्रराज अस्पतालमा किट अभाव हुँदा पीसीआर टेष्ट बन्द Read Next

शुक्रराज अस्पतालमा किट अभाव हुँदा पीसीआर टेष्ट बन्द