तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।गत वर्ष आठ लाख रुपैयाँ मूल्य बराबरका खसीबोका बिक्री गरेका उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएका छन् । उनले ३५ वटा बाख्रा पालेका छन् ।
सोही ठाउँका श्रीमाया आलेले गत वर्ष ६ लाख रुपैयाँ मूल्य बराबरको खसीबोका बिक्री गरिन् । त्यस्तै सोही ठाउँकै डिलमाया आलेले पनि गत वर्ष रु ६ लाख मूल्य बराबरको खसीबोका बिक्री गरिन्। घिरिङ गाउँपालिका–५ माझकोटका नन्दवीर थापाले पनि गत वर्ष पाँच लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका थिए।
थापा र आले मात्र होइन, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दैआएका छन् । तनहुँ, लमजुङ र कास्कीका बाख्रापालक कृषकले गत वर्ष खसीबोका बिक्री गरेर तीन करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।
हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँको साझेदारीमा तीन जिल्लामा सञ्चालित ‘पशुवस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना’ मार्फत गठन भएका नौ वटा सहकारीमार्फत कृषकले रु तीन करोड ४४ लाख १७ हजार ५५९ को खसीबोका बिक्री गरेका छन् ।
सहकारीमा आबद्ध ९०० भन्दा बढी कृषकले बढीमा आठ लाख रुपैयाँसम्म खसीबोका बिक्री गरेर आम्दानी गरेको नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सहकारीमा आबद्ध कृषकले सहकारीमार्फत खसीबोका बिक्री गरेका छन् । सहकारीले कृषकले उत्पादन गरेको खसीबोका खरीद गरी व्यापारीलाई सिधै बिक्री वितरणको व्यवस्था मिलाएको थियो ।
भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाबाट ४४६ खसी बिक्रीमार्फत एक करोड २५ लाख ३६ हजार ४५७ रुपैयाँ, भिमाद नगरपालिका–४ स्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट २३६ खसी बिक्रीमार्फत २५ लाख ५१ हजार ५००रुपैयाँ, शुक्लागण्डकी नगरपालिका–१ स्थित दिदीबहिनी कृषि सहकारीबाट १४६ खसी बिक्रीमार्फत १३ लाख दुई हजार ८०५रुपैयाँ आम्दानी भएको छ ।
यस्तै, घिरिङ गाउँपालिका–५ स्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीबाट ५१३ खसी बिक्रीमार्फत ५६ लाख ६१ हजार २०९ रुपैयाँ, घिरिङ गाउँपालिका–२ स्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीबाट २४३ खसी बिक्रीमार्फत २० लाख २९ हजार १७१रुपैयाँ, व्यास नगरपालिका–८ स्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारीबाट १५९ खसी बिक्रीमार्फत १४ लाख ७९ हजार ८३४रुपैयाँ, मध्यनेपाल नगरपालिका–१ स्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारीबाट ४१९ खसी बिक्रीमार्फत ४७ लाख ४२ हजार १५रुपैयाँ आम्दानी भएको छ ।
यस्तै, सुन्दरबजार नगरपालिका–१ स्थित भगिरथी सामाजिक उद्यमी महिला सहकारीबाट २३१ खसी बिक्रीमार्फत २३ लाख ९६ हजार ७४३ रुपैयाँ र मादी गाउँपालिका–९ स्थित मिजुरे सामाजिक उद्यमी महिला सहकारीबाट २२० खसी बिक्रीमार्फत १७ लाख १७ हजार ८२५ रुपैयाँ आम्दानी भएको छ । कार्यक्रम संयोजक पौडेलका अनुसार उक्त अवधिमा ती सहकारीमा आबद्ध ९०० कृषकले दुई हजार ६१३ खसी बिक्री गरेका थिए ।
किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्री गर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाऊन् भनेर सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको भिमाद नगरपालिका–९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मोक्तान आलेले जानकारी दिए । “मूल्यशृङ्खलाका पात्र घटाएर कृषकलाई सेवा दिन सहकारीमार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको थियो”, उनले भने ।
भगिरथी सामाजिक उद्यमी महिला सहकारीकी व्यवस्थापक शोभा बरालका अनुसार कृषकलाई सहज होस् भन्ने उद्देश्यले सहकारीले गाउँमै हाटबजारको व्यवस्था गरी खसी बिक्री गर्ने व्यवस्था मिलाएको थियो ।
बाख्रापालक कृषकले पशु आहारा व्यवस्थापनका लागि उन्नत जातका घाँस नर्सरी स्थापना गरेका छन् । बाख्रालाई खुवाउनका लागि सहकारी संस्थाले नै सुधारिएको दाना उत्पादन गरेर सदस्यहरुलाई बिक्री गर्ने व्यवस्था मिलाएको छ भने सूक्ष्म पोषक तत्वका लागि खनिज ढिक्काको व्यवस्था पनि सहकारीले नै मिलाउने गरेको छ । रासस