काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका दुई केबलकार निर्माण अन्योलमा परेका छन् । उद्येग विभागमा दर्ता भएको १ वर्ष बित्न लागे पनि हालसम्म दुवै केबलकार निर्माणको कुनै पनि प्रक्रिया अघि नबढ्दा अन्योलता देखिएको हो ।
ललितपुरको गोदावरी नगरपालिकामा बन्ने भनिएको फुल्चोकी केबलकार निर्माण नहुने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेनद्र देव भारतीले बताए ।
उनले सर्वोच्व अदालतले २०७४/७५ मा गरेको निर्णय अनुसार सो स्थानमा वनस्पती भएकाले राष्ट्रिय निकुञ्जको रुपमा मात्र प्रयोग गर्न भनिएको बताए । सर्वोचवको सो निर्णय अनुसार उक्त स्थानमा केबलकार नबन्ने भएको बताए ।
उनले राष्ट्रिय निकुन्जको रुपमा यथावत राख्ने गरी कृयाकलाप बाहेकका काम गर्न रोक लगाएको हुँदा केबलकार निर्माण रोकिएको बताए । ‘फुल्चोकी केबलकार निर्माण रोकिएको छ, सर्वोच्वले २०७४/७५ मा गरेको निर्णयका कारण त्यहाँ राष्ट्रिय निकुञ्ज बाहेकका काम गर्न नपाइने भएको हो,’ भारतीले चाणक्य पोष्टसँग भने ।
६६ करोड रुपैयाँ लगानीमा बन्ने भनेको सो केबलकार सञ्चालनमा वार्षिक ११ लाख ३७ हजार ५ सय जना मानिसले सेवा पाउने अनुमान गरिएको थियो । स्वदेशी लगानीमा बन्ने भनिएको सो केबलकार निर्माण उद्योग विभागमा दर्ता भएको झण्डै १ वर्ष भएको छ ।
यस्तै, काठमाडौंको नार्गाजुन नगरपालिकामा बन्ने भनिएको भ्यू नार्गाजुन केबलकार निर्माण समेत अझै अन्योलमा रहेको छ । नार्गाजुन नगरपालिका प्रवक्ता थुमराज केसीले सो केबलकार निर्माणको कुनै प्रक्रिया अघि नबढेकाले बन्ने नबन्ने अन्योलमा रहेको बताए । ‘बन्ने भनेर केही समय अघि कुरा उठेको हो, तर अहिलेसम्म कुनै छलफल नै अघि बढेको छैन, प्रक्रिया त हुनै बाँकी छ,’ केसीले चाणक्य पोष्टसँग भने ।
नार्गाजुनमा बन्ने केबलकार ६६ करोड रुपैयाँ लगानीमा बन्ने भनिएको थियो । सो केबल कार निर्माण पछि ११ लाख २० हजार जना मानिसले सेवा पाउने अनुमान गरिएको थियो ।
स्वदेशी लगानीमै बन्ने भनिएको सो दवबै केबलकार निर्माण पछिल्लो केही समय कोभिडका कारणले समेत अघि बढ्न नसकेको हो । एक वर्ष अघि उद्योग विभागमा दर्ता भएको सो केबल कार निमाणको काम कोरोना भाइरसको पहिलो फेज र दोस्रो फेजका कारण निर्माण अवरोधको अवस्थामा रहेको छ ।