विशाल बजारको सेयर किन्ने फस्दै, ३ दिनमै प्रतिकित्ता २०२१ रुपैयाँ घट्यो, यसकारण घट्दैछ भाउ

काठमाडौं । विशाल बजार कम्पनीको सेयर मूल्यमा लगातार तेस्रो दिन नेगेटिभ सर्किट लागेको छ ।करिब ३ महिनाको प्रतिबन्धपछि वैशाख ९ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमा लगातार १० दिनको पोजेटिभ सर्किटपछि  बिहीबारदेखि उल्टो यात्रा शुरु गरेको हो ।

 

वैशाख ९ गते प्रतिकित्ता ३०२४ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको भाउ दोब्बरभन्दा धेरैले बढेर गत बुधबार ७४६२ रुपैयाँसम्म पुगेको थियो । बिहीबारदेखि दैनिक नेगेटिभ सर्किट लागेर घट्न थालेको कम्पनीको सेयर मूल्य पछिल्ला ३ दिनमै प्रतिकित्ता २०२१ रुपैयाँ घटेर ५४४१ रुपैयाँमा आइपुगेको छ ।

 

वर्षौंदेखि वित्तीय विवरण समेत सार्वजनिक नगरेको भन्दै नेप्सेले माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार नै रोक्का गरेको थियो ।

 

विगतमा समेत स्वार्थ समूहले चलखेल गर्दै आएको यस कम्पनीको सेयर यसपटक पनि कर्नरिड. हुँदा भाउ अस्वभाविक वृद्धि भएको थियो । कर्नरिड. गर्नेले प्रफिट बुक गरेपछि फेरि सेयर मूल्य घट्न थालेको हो । अहिले कम्पनीको सेयर विक्री गर्नेको चाप देखिन्छ भने खरिदकर्ता शून्य रहेका छन् ।

 

नेप्सेमा सर्वसाधरणतर्फको ४ लाख ९१ हजार ४०० कित्ता सूचीकृत छ । सेयर संख्या थोरै र सप्लाइ पनि कम आउने भएकाले स्वार्थ समूहले अनेक हल्ला चलाउँदै कम्पनीको सेयरमा चलखेल गर्ने गरेका छन् ।

 

स्वार्थ समूहको पछि लागि हल्लाको भरमा सेयर किन्नेहरु नराम्ररी फसेको देखिन्छ । वर्षौंदेखि सेयरधनीलाई लाभांश समेत नदिएको कम्पनीको सेयर हौसिएर किन्नेहरु फसेका हुन् ।

चिया उत्पादन घट्दो, निकासीमा उस्तै लफडा Read Previous

चिया उत्पादन घट्दो, निकासीमा उस्तै लफडा

काठमाडौं उपत्यकामा बन्ने भनिएका दुई केबलकार निर्माण अन्योलमा Read Next

काठमाडौं उपत्यकामा बन्ने भनिएका दुई केबलकार निर्माण अन्योलमा