काठमाडौं । निकट भविष्यमै ७५ करोड बराबरको आइपीओ ल्याउन लागेको सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफामा झिनो सुधार भएको छ ।
कम्पनीले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैतमसान्तसम्म १४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद नाफामा न्यून वृद्धि भए पनि खुद बीमा शुल्क संकलनमा कम्पनीले छलाड. मारेको छ । गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष १०९.८८ प्रतिशतले बढाएर २ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।
चैत मसान्तसम्म जीवन बीमा कोषको आकार पनि १३८.२१ प्रतिशतले बढेर ३ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा कुल ४१ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ४ करोड ११ लाख रुपैयाँ छ ।
हाल १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७६ करोड रुपैयाँ छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनत चुक्ता पूँजी पुर्याउन ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गनर्ने तयारी गरिरहेको छ ।