खपत घटेपछि सस्तियो तरकारीको भाउ, फलफूल भने अचाक्ली महँगिँदै

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य सस्तो हुँदै गएको छ । निषेधाज्ञा लागू भएसँगै तरकारीको माग घट्दा मूल्य पनि ओराालो लागेको हो ।

 

निषेधाज्ञाका कारण होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस लगायत धेरै तरकारी खपत हुने ठाउँ बन्द रहेको र ठूलो संख्यामा मानिसले उपत्यका छाडेकाले माग घट्दा भाउ पनि ओरालो लागेको हो ।

 

कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार उपत्यकामा तरकारी खपत कम हुन थालेपछि तरकारीको मूल्य घट्न थालेको हो । ‘देशका अधिकांश जिल्लामा निषेधाज्ञा कारण तरकारीको खपत ह्वात्तै घटेको छ,’ उनले भने, ‘जसका कारण मूल्य पनि घट्दो क्रममा छ भने आगामी दिनमा अझै घट्ने सम्भावना देखिन्छ ।’

 

लाखौँ मानिसहरु आफ्नै गाउँ फर्केपछि उपत्यकामा तरकारीको खपत निकै कम देखिएको उनको भनाइ छ । खपत घटेसँगै तरकारीको आयातसम्म घटेको छ । निषोधाज्ञा अघि दैनिक ९५० टनसम्म तरकारी आयात हुने गरेकोमा अहिले घटेर दैनिक ५०० टन हाराहारीमा झरेको उनले बताए । माग नभएपछि बजार लग्ने बेला भएको तरकारी बारीमै कुहने हो कि भन्ने चिन्ताले समेत सताउन थालेको उनको भनाइ छ ।

 

उनका अनुसार कालिमाटीको होलसेलमा तरकारीको मूल्य धेरै न्यून भए पनि खुद्रा बजारमा भने त्यस अनुसार मूल्य कम हुन सकेको छैन ।कालिमाटी फलफूल तथा तरकारी बजारमा काउली, प्याज, गोलभेँडा, बन्दा, लौका, गाजर, आलु, मुला, काँक्रो लगायत अधिकांश तरकारीको भाउ घटेको छ ।

 

कालिमाटी बजारमा आज काउली स्थानीयको थोक मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँसम्म रहेको छ । जबकी निषेधाज्ञा अघि वैशाख १५ गते प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म थियो ।

 

यस्तै, दुई साताअघि तने बोडी प्रतिकिलो १३५ रुपैयाँ रहेकोमा शनिबार घटेर प्रतिकिलो ४० रुपैयाँमा झरेको । मटरकोसा प्रतिकिलो १५५ बाट घटेर ९० रुपैयाँ भएको छ । सानो गोलभेँडा ४० रुपैयाँबाट घटेर १५ रुपैयाँमा आएको छ ।घिउ सिमीको मूल्य पनि १३० बाट ४०रुपैयाँ भएको समितिले जनाएको छ ।

 

त्यसैगरी, तीते करेला किलोको ८७ बाट घटेर १६ रुपैयाँ, हरियो फर्सी ५५ बाट घटेर २६ रुपैयाँ, भिन्डी प्रतिकिलो ८७ बाट घटेर ३५ रुपैयाँ, ८७ पर्ने ब्रोकाउली घटेर ५० रुपैयाँ, ६५ पर्ने घिरौंला २५ रुपैयाँ, ७७ पर्ने हरियो खुर्सानी ५० रुपैयाँ, गाँजर ७५ बाट घटेर ४० रुपैयाँमा झरेको छ ।

 

अन्य अधिकांश हरियो तरकारीको भाउ पनि घटेको समितिले जनाएको छ । भारतबाट आयात भएको प्याजको मूल्य भने बढेको छ । दुई साताअघि प्रतिकिलो ३४ पर्ने सुकेको प्याज अहिले बढेर ४० रुपैयाँ पुगेको छ ।

 

फलफूलको मूल्य भने आकाशियो

 

पछिल्लो दुई सातामा तरकारीको मूल्य घटे पनि फलफूलको मूल्य भने आकाशिएको छ । भारत लगायत मुलुकबाट निरन्तर आयात भइरहे पनि तुलनात्मक रुपमा माग बढ्दा फलफूलको भाउ महँगो भएको हो ।

 

पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले फलफूलको माग समेत बढेको व्यापारीहरु बताउँछन् । दुई साताको अवधिमा फलफूलको मूल्य प्रतिकेजी १०० रुपैयाँसम्म बढेको छ ।

 

वैशाख १५ मा प्रतिकेजी २५० रुपैयाँ रहेको स्याउ बढेर शनिबार ३२० रुपैयाँ पुगेको छ । यसैगरी सो बेला १६० रुपैयाँ रहेको मौसम २४०, मेवा १०० बाट बढेर १२०, सुन्तला १२० बाट २०० रुपैयाँ, कालो अंगुर ३०० बाट ४०० रुपैयाँ, हरियो अंगुर २२० बाट बढेर २५० रुपैयाँ पुगेको छ ।त्यस्तै, आँप १२० बाट बढेर १५०, केरा प्रतिदर्जन ९० रुपैयाँबाट बढेर १२० रुपैयाँ पुगेको छ ।

हिमालयन पावर पार्टनरले बनाएको २७ मेगावाटको दोर्दीखोला अन्तिम चरणमा Read Previous

हिमालयन पावर पार्टनरले बनाएको २७ मेगावाटको दोर्दीखोला अन्तिम चरणमा

७५ करोडको आइपीओ ल्याउन लागेको सिटिजन लाइफको यस्तो छ वित्तीय विवरण Read Next

७५ करोडको आइपीओ ल्याउन लागेको सिटिजन लाइफको यस्तो छ वित्तीय विवरण