नयाँ श्रम स्वीकृति दिन बन्द, पुनः स्वीकृति भने लिन सकिने

काठमाडौं । वैदेशिक रोजगार विभागले नयाँ श्रम स्वीकृति दिन बन्द गरेको छ । विभागले आज (शुक्रबार)देखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भइ लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति लगायत सेवा बन्द गरेको हो ।

 

बढ्दो कोरोना संक्रमण र निषेधाज्ञालाई मध्येनजर गर्दै विभागले भौतिक रुपमा उपस्थित भइ प्रदान गरिने सेवा बन्द गरेको हो । तर अनलाइनबाट भने श्रम स्वीकृति लिन पाइने विभागले जनाएको छ ।

 

वैदेशिक रोजगार कार्यालय ताहाचलले भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता काम सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ ।

 

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेबसाइटमा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ ।

 

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

 

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ ।

 

सरकारले दोस्रो लहरको कोरोना रोकथामका लागि वैशाख १६ गतेदेखि उपत्यका लगायत जिल्लामा निषेधाज्ञा लागू गरेको छ भने आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

महामारीमा यातायात व्यवसायीको ब्रह्मलुट, जनकपुरको बस भाडा १५ हजार Read Previous

महामारीमा यातायात व्यवसायीको ब्रह्मलुट, जनकपुरको बस भाडा १५ हजार

हुम्लामा हवाई उडान पुनःशुरु Read Next

हुम्लामा हवाई उडान पुनःशुरु