काठमाडौं । कोरोनाको खोप खरिदमा कमिशनका लागि आयात नै प्रभावित पारेको गम्भीर आरोप लागेका व्यवसायी सुरज वैद्यले घोर आपत्ति जनाएका छन् ।
सिरम इन्स्टिच्यूट अफ इन्डियाको एजेन्टको रुपमा आफू र आफ्नो कम्पनी वैद्ययज् अर्गनाइजेशन अफ इन्डष्ट्रीजको नाम मुछेको भन्दै वैद्यले आपत्ति जनाएका हुन् । उनले यो प्रकरणमा आफ्नो कुनै संगलग्नता नरहेको बताए ।
‘अनावश्यक रुपमा म र मेरो कम्पनीको नाम यहाँ मुछिएको छ । यस्तो संकटको बेला काम गर्नु पर्ने नियकायले आफ्नो नाम बदनाम गर्न खोजेको देखियो,’ वैद्यले चाणक्य पोष्टसँग भने ।
आफूले कहाँबाट यो विषय आयो त्यसलाई राम्रोसँग बुझ्ने कोशिस गरिरहेको बताउँदै वैद्य भन्छन्, ‘मेरो बुबाले मलाई अरुलाई मारेर पैसा कमाउन सिकाउनु भएको छैन । मैले पनि मेरो बच्चाहरुलाई यस्तो कुरा सिकाउँदिन, अहिले बाहिर आएको विषयले मेरो व्यवसायीक जीवनमा नै मान हानी गरेको छ । आवश्यक उपचार खोज्छु ।’
स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले हालै एक संचार माध्यमा विचौलियाका कारण खोप आयातमा ढिलाइ भएको बताएपछि सिरमको नेपालको स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजका सहयोगी भनिएका वैद्यमाथि कमिशनको चक्करमा खोप आयात नै प्रभावित पारेको आरोप लागेको छ ।
सरकारले भारतीय खोप उत्पादन कम्पनी सिरमसँग २० लाख डोज खोप खरिद सम्झौता गरी भुक्तानी समेत गरिसकेको छ । पहिलो चरणमा १० लाख डोज खोप ल्याए पनि बाँकी १० लाख डोज खोप पठाउन कम्पनी ढिलाई गरिरहेको छ ।
भारत सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएका कारण ढिलाई भएको बताइए पनि स्वास्थमन्त्रीले नेपालस्थित स्थानीय एजेन्टको प्रभावले गर्दा सिरमले खोप दिन ढिलाई गरेको बताएपछि अहिले यसबारे व्यापक चर्चा भइरहेको छ ।
मन्त्रालयले थप ५० लाख डोज खोप खरिदका लागि सिरमसँग सम्झौता गर्ने समेत तयारी गरेको थियो । तर, स्थानीय एजेन्टले आफूले कमिशन नपाउने भएपछि कम्पनीलाई प्रभावमा पारी भुक्तानी भइसकेको खोप समेत नपठाएको आरोप छ ।
सिरमको नेपालका लागि स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेज रहेको छ । जसको संचालक व्यवसायी विजय दुगड रहेका छन् ।
कोभिड १९ को दोस्रो लहरको मारमा रहेको समयमा सरकारले घोषणा गरे अनुसारको भ्याक्सीन ल्याउन नसकि रहेको समयमा आएको यो कमिसन काण्ड निकै रोचक रहेको छ ।