काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । मंगलबार करिब २ अंकले बढेको बजारमा आज ५ अंकको गिरावट आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १६ करोडले बढेर सवा ६ अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ५.०९ अंकले घटेर२६४९.६० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१८ कम्पनीको ६ अर्ब २१करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड ४८ लाख ६७ हजार ९९५ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४५.२७ अंकले बढेको छ भने उत्पादनमूलक समूह ६७.०७ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१८ कम्पनीमध्ये ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १०९ कम्पनीको मूल्य घटेको छ । २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज प्रभु इन्स्योेरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसी एशिया लघुवित्त २२ करोड र एनसीसी बैंक १९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
५ अंकले घटेको बजारमा आज १४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिडी हाइड्रोपावर र रैराड. हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, विशाल बजार, महिला लघुवित्त, सिंगटी हाइड्रोपावर, छ्याड.दी हाइड्रोपावर, समता घरेलु लघुवित्त, लिबर्टी इनर्जी, राधि विद्युत् कम्पनी, युनियन, वरुण, जोशी, खानीखोला, घलेम्दी र आँखुखोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
घट्दो बजारमा आज आशा लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ३.४३ प्रतिशत गुमाएका छन् ।