बेनी-जोमसोम सडक कालोपत्र शुरु, असारसम्म सक्ने लक्ष्य

गलेश्वर । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ ।

 

मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर सचिन शर्माले जानकारी दिए ।

 

ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर शर्माले दिएको जानकारी अनुसार ५५ करोड ३० लाख १६ हजार ६०१ मा सडक कालोपत्रको जिम्मा लिएको हो । सो सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र हुने उनले बताए।

 

इन्जिनीयर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्र र १ हजार ३०० मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ । आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रको काम शुरु गरिएको उनले बताए ।

 

सडकलाई दुई लेन फराकिलो बनाइएको छ । घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भइसकेको उनले जानकारी दिए । शर्माका अनुसार सडक साढे आठ मिटर फराकिलो गरी कालोपत्र गरिँदै छ ।

 

त्यसैगरी, शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रको तयारी गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ, काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ ।

 

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि चार प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रको तयारी भइरहेको सहायक ठेकेदार कम्पनि ओमकारेश्वर कन्सट्रक्शनका प्रमुख अमृत दाहालले बताए।रासस

हामीलाई सरकार चाहियो ! Read Previous

हामीलाई सरकार चाहियो !

५ अंकले घटेको बजारमा यी १४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

५ अंकले घटेको बजारमा यी १४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट