घट्न थाल्यो कुखुराको मासुको मूल्य, अण्डा भने अहिलेसम्मकै महँगो

काठमाडौं । बजारमा कुखुराको मासुको मूल्यमा लगातार गिरावट आएको छ । देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै मागमा गिरावट आउँदा मासुको मूल्य घटेको हो ।

 

राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्डस्टोर मूल्य २० रुपैयाँ घटेको जनाएको थियो । तयारी मासुको हालको मूल्यमा ३५ रुपैयाँ देखि ४५ रुपैयाँसम्म गिरावट आएको हो ।

 

 

ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ । राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका सचिव देवकुमार गिरीले जिउँदो बोइलर कुखुराको मूल्यमा २० रुपैयाँसम्म गिरावट आएको बताए ।

 

जिउँदो कुखुराको मासुको मूल्य २७० रुपैयाँ प्रतिकिलो तोकेको उनको दाबी छ । तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको उनले बताए । खुद्रा बजारमा भने कुखुराको मासुको मूल्य ४०० रुपैयाँ प्रतिकेजीसम्म रहेको छ । ओखलढुंगा दाजुभाई मासु पसलका विक्रेता रमेस शाक्य मासुको मूल्य ४४५ रुपैयाँ प्रतिकेजीबाट घटेर ४०० रुपैयाँ पुगेको बताउँछन् । ‘केही दिन अघि ४ सय ४५ थियो अहिले ४ सयमा झरेको छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

गत वैशाख महिनामा कुखुराको मासुको मूल्य २ सय ९० रुपैयाँ प्रतिकेजीसम्म पुगेको थियो । लकडाउन पछि कुखुराको माग बढेको र चल्ला कम भएको भन्दै मासुको मूल्य वृद्धि गरिएको थियो । तर, कोभिडका कारण फेरि निषेधाज्ञका भएपछि कुखुराको माग घटेसँगै मूल्यमा समेत गिरावट आएको हो ।

 

कुखुराको मासु दैनिक ९ लाख केजी विक्री हुने गरेको छ । एउटा कुखुराको लागत मूल्य २०० रुपैयाँ हुने गरेको छ । कुल ९ लाख कुखुराको उत्पादन लागत १८ करोड रुपैयाँ हुने गरेको छ ।

 

उनका अनुसार देशभर प्रतिहप्ता ३० लाख हाराहारीमा बोइलर कुखुरा उत्पादन हुने गरेका थिए । प्रतिहप्ता बोइलर कुखुराको उत्पादन लागत ७५ रुपैयाँ हुने गर्छ । कुल बोइलर कुखुरा उत्पादनको लागत मूल्य १७ करोड १० लाख रुपैयाँ रहेको छ । उत्पादन भएका मध्ये १५ लाख बोइलर कुखुरा मात्र विक्री हुने गरेका छन् । सो कुखुराका चल्ला प्रतिगोटा २० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता रहेको थियो । बोइलर कुखुरामा प्रति हप्ता १४ करोड १० लाख रुपैयाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था व्यवसायी लगडाउनमा रहेको थियो ।

 

लागत खर्च बढि भएपछि माग समेत बढ्नाले चल्ला अभावका साथै कुखुराको मासुको मूल्यमा ठूलो वृद्धि आएको थियो । विगतमा पोल्ट्री व्यवसायीहरुले दैनिक २ करोड ७ लाख ८५ हजार रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो । ४५ लाख कुखुराको चल्ला माग भएकोमा १५ लाख अझै कमि रहेको छ ।

 

अण्डाको भाउ भने अहिलेसम्मकै उच्च

 

कुखुराको मासुको भाउ घटे पनि अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो ।नेपाल अण्डा उत्पादक सङ्घका अनुसार फार्ममा ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।

 

४ वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अण्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो ।

 

दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको संघले जनाएको छ ।

अर्को हप्तासम्म चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याइने Read Previous

अर्को हप्तासम्म चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याइने

सीईडीबी हाइड्रोपावरको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कतिले भरे ? Read Next

सीईडीबी हाइड्रोपावरको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कतिले भरे ?