काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ११ गुणा बढी आवेदन परेको छ ।
सीडीएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आइपीओमा १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ११.२४ गुणा बढी हो ।यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या केही बढ्नसक्ने जनाइएको छ ।
कम्पनीको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि आइपीओमा परेको दोस्रो धेरै आवेदन हो । यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा सर्वाधिक १८ लाख बढीले आवेदन दिएका थिए ।
कम्पनीले वैशाख १७ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।
निष्काशित कुल सेयरमध्ये ५ प्रतिशत (१ लाख २५ हजार ९११ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (५० हजार ३६५) कित्ता आयोजनाका कर्मचारीका र २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।
कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।