काठमाडौं । सेयर बजारमा झिनो अंकको सुधार आएको छ । सोमबार दोहोरो अंकले घटेको बजारमा आज न्यून अंकको सुधार आएको हो ।
सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेर ६ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १.९४ अंकले बढेर २६५४.६९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँ बराबरको १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १३७.८२ अंकले बढेको छ भने जीवन बीमा समूह ६४.२३ अंकले घटेको छ ।
आज एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अरुण काबेली २१ करोड र ग्रामीण विकास लघुवित्त १६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
झिनो सुधार आएको बजारमा आज ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समता घरेलु र महिला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, विशाल बजार, सपोर्ट माइक्रोफाइनान्स, राधि जलविद्युत् कम्पनी, सिंगटी हाइडो इनर्जी, रुरु जलविद्युत्, युनाइटेड मोदी हाइडोपावर र पञ्चकन्या माइ हाइडोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । बढ्दो बजारमा आज चन्द्रागिरी हिल्सका सेयरधनीले सबैभन्दा धेरै १.९८ प्रतिशत गुमाएका छन् ।