काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि उपत्यकामा वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्म थियो । अबको निषेधाज्ञा अहिलेकोभन्दा थप कडा हुने जनाइएको छ ।
अबदेखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने जनाइएको छ । निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ।यसअघि बिहान १० बजेसम्म खोल्न पाइन्थ्यो ।
बैठकले यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ ।
पत्रकारहरूको हकमा सूचना विभागको कार्ड अनिवार्य देखाउनु पर्नेछ ।