कोरोनाले आक्रान्त भारतमा बेरोजगारी पनि बढ्दो, १ महिनामै गुम्यो थप ७० लाखको रोजगारी

काठमाडौं । अप्रिल महिनामा भारतमा कोरोना भाइरसका संक्रमितहरुको संख्यमा उच्च वृद्धि भएसँगै बेरोजगारी पनि बढेको छ । अप्रिल महिनामा भारतको बेरोजगारी विगत ४ महिनायता कै उच्च, ८ प्रतिशत पुगेको हो । प्रशासनले लकडाउन लगायत विभिन्न निषेधाज्ञाहरु लगाएसँगै यो तथ्याङ्क अझै बढ्ने अनुमान छ ।

 

बेरोजगारी दर गत मार्च महिनाको ६.५ प्रतिशतबाट बढेर अप्रिलमा ७.९७ प्रतिशत पुगेको हो । अप्रिल महिनामा मात्र करिब ७० लाख भारतीयहरुले रोजगारी गुमाएका थिए । सेन्टर फर मनिटरिङ इण्डियन इकोनोमी नामक एक अनुसन्धान संस्थाले यो तथ्य सार्वजनिक गरेको हो । संस्थाले मे महिनामा पनि अवस्थामा सुधार आउने संकेत नरहेको बताएको छ ।

 

अहिले भारतमा कोरोना संक्रमण दैनिक ४ लाख हाराहारीमा देखिइरहेको छ भने दैनिक ३ हजार भन्दा बढिले ज्यान गुमाइरहेका छन् ।

 

सन् २०२० को मार्च महिनामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाइरस नियन्त्रणको लागि लकडाउनको घोषणा गरेसँगै आर्थिक गतिविधिहरु संकुचित भएका थिए । उक्त समयमा पनि लाखौंले रोजगारी गुमाएका थिए । अहिले केन्द्र सरकारले प्रदेश सरकारहरुलाई अन्तिम विकल्पको रुपमा मात्र लकडाउनको घोषणा गर्न आग्रह गरेको छ ।

 

बेरोजगारी बढेसँगै भारतको यो वर्ष दोहोरो अंकको आर्थिक वृद्धि गर्ने संभावना पनि लगभग सकिएको छ । धेरै अर्थशास्त्रीहरुले भारतको यो वर्षको आर्थिक वृद्धि सम्बन्धी आफ्ना प्रक्षेपणहरु परिर्वतन गरिसकेका छन् ।

 

बार्केलेज बैंक पिएलसीले आफ्नो प्रक्षेपणमा एक प्रतिशत घटाएर भारतको आर्थिक वृद्धि यो वर्ष १० प्रतिशतको हुने नयाँ अनुमान गरेको छ । बैंकका अर्थशास्त्री राहुल बजोरियाले भ्यासीनको वितरण तीव्र गतिमा हुन नसक्दा त्यसको प्रभाव आर्थिक वृद्धिमा परेको बताएका छन् ।

 

भाइरसको प्रभाव घटाउन नसकेको भनेर मोदी सरकारको तीव्र आलोचना भइरहेको समयमा बढ्दो बेरोजगारीका तथ्याङ्कहरु पनि आउन थालेका छन् । मोदीको पार्टी भाजपाले महत्वपूर्ण प्रदेशहरुमा चुनाव हारेको छ । र, औषधी र अक्सिजन माग्दै सामाजिक सञ्जालहरुमा रोइकराइ गरिरहेका भारतीयहरुसँग विदेशी राजदुतहरु पनि जोडिएका छन् ।

 

एक अर्को अध्ययनका अनुसार उत्पादन क्षेत्रमा धेरै रोजगारीहरु गुमेका छन् । विगत १३ महिनायता नै यो क्षेत्र राम्ररी उठ्न सकेको थिएन ।

 

अर्थशास्त्रीहरु तथ्याङ्कमा देखिएको भन्दा पनि धेरै बेरोजगारी बढेको बताउँछन् । कामदारहरु गाउँ फर्केका कारण बेरोजगारीको सही तथ्याङ्क निकाल्न नसकिएको उनीहरुको भनाइ छ ।

कार्ड अभावमा रोकियो चालक अनुमतिपत्र छपाइ, अझै ३ लाख छाप्न बाँकी Read Previous

कार्ड अभावमा रोकियो चालक अनुमतिपत्र छपाइ, अझै ३ लाख छाप्न बाँकी

महिला लघुवित्तका सेयर होल्डर मालामाल, ३३ दिनमै भाउ १० गुणा, प्रतिकित्ता कति पुग्यो ? Read Next

महिला लघुवित्तका सेयर होल्डर मालामाल, ३३ दिनमै भाउ १० गुणा, प्रतिकित्ता कति पुग्यो ?