काठमाडौं । विशाल बजार कम्पनीको सेयर मूल्य ८ कारोबार दिनमै दोब्बरभन्दा धेरै भएको छ ।करिब ३ महिनाको प्रतिबन्धपछि वैशाख ९ गतेदेखि कारोबारमा आएको कम्पनीको सेयर भाउ ८ दिनमै दोब्बर भएको हो ।
वैशाख ९ गते प्रतिकित्ता ३०२४ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको भाउ त्यसयता हरेक दिन पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढेर आज ६१६८ रुपैयाँ पुगेको छ ।
वर्षौंदेखि वित्तीय विवरण समेत सार्वजनिक नगरेको भन्दै नेप्सेले माघ १८ गतेदेखि कम्पनीको सेयर कारोबार नै रोक्का गरेको थियो । करिब ३ महिनापछि कारोबार खुलेसँगै कम्पनीको मूल्यमा दैनिक पोजेटिभ सर्किट लाग्दै आएको छ ।
विगतमा समेत स्वार्थ समूहले चलखेल गर्दै आएको यस कम्पनीको सेयर यसपटक पनि कर्नरिड. हुँदा भाउ अस्वभाविक वृद्धि भएको लगानीकर्ताहरु बताउँछन् ।
नेप्सेमा सर्वसाधरणतर्फको ४ लाख ९१ हजार ४०० कित्ता सूचीकृत छ । सेयर संख्या थोरै र सप्लाइ पनि कम आउने भएकाले स्वार्थ समूहले अनेक हल्ला चलाउँदै कम्पनीको भाउ अस्वभाविक उचालेको उनीहरुको आरोप छ ।
कम्पनीको वास्तविक वित्तीय विवरण समेत थाहा नभएको हुँदा उचालिएर सेयर किन्दा लगानीकर्ता आफै सचेत हुनु पर्ने देखिन्छ ।