बैंकको ब्याजदर झनै घट्दै, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेट सहित)

काठमाडौं । तपाईं कुनै व्यावसायिक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा नपाएर भौंतारिरहनु भएको छ ? तपाईंहरूको जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २७ वटा वाणिज्य बैंकको आधारदरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

 

कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त ? यसको लागि बैंकहरूको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ । आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिँदा सस्तो वा महँगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ ।

 

पछिल्लो एक वर्षमा बैंकको आधारदर औसतमा करिब २.४६ प्रतिशतले घटेको छ । गत वर्षको चैतसम्म बैंकहरूको औसत आधारदर ९.३७ प्रतिशत रहेकोमा अहिले घटेर ६.९१ प्रतिशतमा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा कम रहेको छ ।

 

बैंकहरूले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महँगो ब्याज लिन्छन् । यसमा उनीहरूले केही प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्छन् ।

 

नियामक निकाय नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन ।

 

बैंकहरूले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरूले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।

विगतका वर्षहरूमा बैंकको आधारदर नै १२ प्रतिशतसम्म हुँदा त्यसमा प्रिमियम थप गरी कर्जा लगानीगर्दा बैंकहरूको ब्याजदर १७/१८ सम्म थियो । तर, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । जसका कारण सबै बैंकहरूको आधारदर एकल अंकमा झरिसकेको छ भने भने कुल ब्याजदर नै अधिकतम १३/१४ प्रतिशतमा झरिसकेको छ । अहिले बैंकहरूले कर्जाको प्रकृति अनुसार न्यूनतम साढे ६ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेका छन् ।

 

पछिल्लो एक वर्षमा बैंकको आधारदर औसतमा करिब २.५० प्रतिशतले घटेको छ । गत वर्षको चैतसम्म बैंकहरूको औसत आधारदर ९.३७ प्रतिशत रहेकोमा अहिले घटेर ६.८७ प्रतिशतमा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा कम रहेको छ ।

 

त्रैमासैपिच्छे बैंकहरूको आधारदर घट्दै आएको छ । गत वर्षको असारमसान्तसम्म औसत बेसरेट ८.५४ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा घटेर ७.७१ प्रतिशतमा आएको छ । त्यसैगरी दोस्रो त्रैमासमा घटेर ७.१७ प्रतिशतमा आएको थियो भने तेस्रो त्रैमासमा ६.८७ प्रतिशतमा झरेको छ ।

 

किन घट्दै छ बेसरेट ?

 

बेसरेट घट्नुको मुख्य कारण अधिक तरलता हो । पछिल्लो १ वर्ष यता बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा बैंकहरुको बेसरेट घट्न पुगेको हो । केही महिना अघि बैंकिङ प्रणालीमा २ खर्ब बढी तरलता रहेको थियो भने हाल ५० अर्ब बढी तरलता कायम छ ।

 

कोरोनाका कारण गत चैत यता अर्थतन्त्र सुस्त हुँदा कर्जाको मागमा कमी आउँदा तरला बढ्न पुगेको हो । कर्जाको माग कम भएर बैंकमा पैसा थुप्रिन थालेपछि बैंकहरूले आफ्नो बेसरेट घटाउन थालेका हुन् । यद्यपि, पछिल्ला केही महिना भने बैंकहरुले आक्रमक कर्जा विस्तार गरेका छन् ।

पछिल्ला केही महिना यता कर्जाको माग बढ्दै गए पनि बेसरेट ह्वात्तै बढ्ने सम्भावना भने देखिँदैन । अहिले पनि बैंकिङ प्रणालीमा आधा खर्ब बढी तरलता कायम भने निक्षेप पनि राम्रै छ । जसकारण बैंकको ब्याज ह्वात्तै बढ्ने सम्भावना कम छ । हाल कोरोनाका कारण निषेधाज्ञा लागू गरिएकाले बैंकको कर्जा लगानी समेत घट्ने अनुमान गरिएको छ ।

 

कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो ?

 

वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधारदर विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्डको  रहेको छ । यसको आधार ब्याजदर ५.३३ प्रतिशत मात्र छ ।

 

एक वर्षको अवधिमा सानिमाले आधारदर १.९४ प्रतिशतले घटाएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म सानिमाको बेसरेट ७.२७ प्रतिशत थियो । बैंकले यो आधारदरमा न्यूनतम् १ प्रतिशतदेखि कर्जाको प्रकृति अनुसार थप प्रिमियम जोडेर कर्जा लगानी गर्दछ ।

 

चार्टर्डपछि अन्य ३ बैंकको बेसरेट पनि ६ प्रतिशतभन्दा कम रहेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.९५ र नेपाल बैंकको ५.९८ प्रतिशत रहेको छ ।

 

८ बैंकको आधारदर ७ प्रतिशतभन्दा कम छ । एभरेष्ट, नबिल, हिमालयन, ग्लोबल आइएमई, लक्ष्मी, सानिमा र सिद्धार्थ बैंकको बेसरेट ६ देखि ७ प्रतिशतको बीचमा रहेको छ । यी बैंकहरू पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरूको सूचीमा पर्दछन् ।

 

यस्तै, १५ वटा वाणिज्य बैंकहरूको बेसरेट ७ प्रतिशतभन्दा बढी र ८ प्रतिशतभन्दा कम रहेको रहेको छ । यो आधारदर नै अहिलेको अवस्थामा महँगो आधारदर हो । अहिले सबैभन्दा महँगो आधारदर सिभिल बैंकको रहेको छ । यसको बेसरेट सबैभन्दा धेरै ७.८२ प्रतिशत रहेको छ ।

 

बैंकहरूको आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार प्रिमियम जोडर कर्जा लगानी गर्छन् । बैंकिङ प्रणालीमा हुने तरलताको अवस्था अनुसार ब्याजदरमा परिवर्तन गर्ने गर्दछन् ।पछिल्लो समय राष्ट्र बैंकको निर्देशन अनुसार घर, गाडी लगायत कर्जामा बैंकहरूले स्थिर (परिवर्तन नहुने) ब्याजदर पनि लागू गरेका छन् ।

 

नोट : यहाँ प्रस्तुत सामाग्री बैंकहरूले प्रकाशन गरेको विभिन्न त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारिएको हो ।

नेशनल बन्यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने माइक्रोफाइनान्स, यस्ता छन् मुख्य सूचक Read Previous

नेशनल बन्यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने माइक्रोफाइनान्स, यस्ता छन् मुख्य सूचक

विशाल बजारको सेयर मूल्य ८ दिनमै दोब्बर, किन अचाक्ली बढ्दै छ भाउ ? Read Next

विशाल बजारको सेयर मूल्य ८ दिनमै दोब्बर, किन अचाक्ली बढ्दै छ भाउ ?