काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आजदेखि विक्री खुला भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल सेयरमध्ये ५ प्रतिशत (१ लाख २५ हजार ९११ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (५० हजार ३६५) कित्ता आयोजनाका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइन्छ । सो अवधिमा सबै सेयर विक्री नभएका ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन पाइन्छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनी सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापीटल रहेको छ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी आइएस’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउदँछ।
कम्पनीले हाल चार वटा हाइड्रोपावर आयोजना निर्मण गरिरहेको छ । कम्पनीले ११ मेगावाटको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी पहिलो, ५ मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा हाइड्रोपावर निर्माण गरिरहेको छ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई २३ लाख ४१ हजार ९५४ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा २ लाख ३४ हजार १९५ जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा करिब १८ लाखले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।