काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न शुरु गरिएको छ ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले संयुक्त रुपमा सुरुङमा पानी पठाएर परीक्षणको शुभारम्भ गरे ।
माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।
सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गरिने जनाइएको छ ।
वैशाख भित्र पहिलो युनिटबाट बिजुली उत्पादन
मुख्य निर्माणअन्तर्गत बाँधरइन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।
यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत्गृहमा जडान गरिएका ६र६ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्तसम्म विद्युत् उत्पादन शुरु हुनेछ ।
चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।
आयोजना ढिलाइ हुनका कारण
विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट–२) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
यस्तै लट–२ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इञ्जिनीयरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो मेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। ‘स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूलाठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्यो, त्यसबाट तंग्रिँदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुशीको विषय हो,’ उनले भने ।
लट–२ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट–३) को ठेकदारलाई दिइएको थियो ।
लागत दोब्बर बढी पुग्यो
२०६८ सालमा निर्माण शुरू गर्दा यस आयोजनाको लागत कुल ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । २०७७ पुसमा निर्माण सम्पन्न हुने प्रक्षेपणसहित यसको लागत ८३ अर्ब ७६ करोड प्रक्षेपण गरिएको थियो । यसमध्ये ५३ अर्ब लागत खर्च रहेको छ भने ३० अर्ब रुपैयाँ ब्याज रहेको छ ।
विद्युत उत्पादन शुरू हुने मिति जति ढिला भयो बैंक ऋणको ब्याजका कारण त्यति नै आयोजनाको लागत महँगो पर्दै जान्छ । यस अघि तामाकोशी आयोजना सम्पन्न हुने म्याद २०७६ फागुन तोकिएको थियो ।