काठमाडौं । सार्वजनिक लेखा समितिले पत्र काट्दै काठमाडौँ–तराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ ।
समितिले द्रुमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो ।
‘सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत टेण्डर प्रक्रिया अघि बढाई संसद्को प्रतिकूल हुने स्थिति पैदा भएकाले उक्त खरिद प्रक्रिया रद्द गरी गराई तीन दिनभित्र त्यस सम्बन्धमा स्पष्ट धारणासहित सम्पूर्ण कागजात उपलब्ध गराउन रक्षा मन्त्रालयका सचिवलाई पत्राचार गरिएकामा आजसम्म यकिन जानकारी समितिलाई प्राप्त नभएकाले समितिको कामकारवाहीमा सहयोग गर्न पुनः ताकेता गरिएको छ,’ नेपाली सेनालाई सम्बोधन गरेर समितिका सचिव रोजनाथ पाण्डेले बुधबार पठाएको पत्रमा भनिएको छ ।
समितिको गएको चैत १९ गतेको बैठकले द्रुतमार्गको दोस्रो प्याकेज अन्तर्गतको टनेल र पुलको ठेक्का प्रक्रियाको प्रि–क्वालिफाइड’मै अनियमितताको शंका गर्दै तत्काल सो पक्रिया रोकी नयाँ प्रक्रिया थाल्न निर्देशन दिएको थियो ।
तर, नेपाली सेनाले समितिको निर्देशनलाई वेवास्ता गर्दै वैशाख १२ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता गर्ने जनाएको थियो । त्यसपछि लेखा समितिले सेनालाई पत्र नै काटेर तत्काल ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको हो ।