महामारीका बीच आइफोनको व्यापार बढ्दो, ३ महिनामा ८९ अर्ब डलरको कारोबार

विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलले सन् २०२१ को दोस्रो त्रैमासमा ८९.५ अर्ब डलरको कारोबार गरेको छ । जनवरी देखि मार्च महिनासम्ममा एप्पलले उक्त कारोबार गरेको हो ।

 

महामारी पछि पहिलो पटक कम्पनीका सबै आउटलेटहरु यो त्रैमासमा खुलेका थिए । विश्वव्यापी रुपमा चिपको अभाव भएको भए पनि एप्पलको सबैभन्दा चर्चित उत्पादन आइफोनमा यसको प्रभाव परेको थिएन । म्याकबुक र आइप्याडको उत्पादन भने केही हदसम्म प्रभावित भएका थिए ।

 

एप्पलको यो त्रैमासको कारोबार विश्लेषकहरुको अनुमान भन्दा धेरै हो । विश्लेषकहरुले यो त्रैमासमा एप्पपले ७७.३ अर्ब डलरको कारोबार गर्ने अनुमान गरेका थिए तर एप्पलले यो भन्दा धेरै ८९.५ अर्ब डलरको कारोबार गरेको हो ।

 

यो त्रैमासमा एप्पलको प्रतिसेयर आम्दानी पनि विश्लेषकहरुको अनुमान ०.५६ डलर भन्दा धेरै १.४० डलर पुगेको छ । विश्लेषकहरुले यो त्रैमासमा आइफोनको कारोबार ४१.४९ अर्ब डलरको हुने अनुमान गरेका थिए । तर एप्पलले यो त्रैमासमा आइफोनबाट मात्र ४७.९४ अर्ब डलरको कारोबार गरेको छ ।

 

पहिलो त्रैमासको भन्दा चाहिँ एप्पलको कारोबारमा केही गिरावट आएको हो । चालू वर्षको पहिलो त्रैमासमा एप्पलले अहिलेसम्मकै सबैभन्दा धेरै १०० अर्ब डलरको कारोबार गरेको थियो ।

 

पहिलो त्रैमास छुट्टीको समयमा परेको र गत अक्टुबरमा सार्वजनिक गरिएको आइफोन १२ निकै आकर्षक रहेका कारण त्यस त्रैमासको कारोबार १०० अर्ब डलर पुगेको जानकारहरु बताउँछन् ।

 

वाल स्ट्रिटका अनुसार एप्पलले सन् २०२१ मा मात्र २२ करोड वटा आइफोन विक्री गर्ने छ । विश्व बजारमा भएको चिपको अभावले पनि उसको उत्पादनमा प्रभाव नपार्ने बताइएको छ । म्याकबुक र आइप्याडको भने उत्पादनमा प्रभावीत हुने बताइएको छ ।

 

गत मार्च महिनामा एप्पलको अमेरिकामा रहेका २७० वटै आउटलेटहरु खुलेका थिए । महामारीयता अमेरिकामा सबै आउटलेटहरु खुलेको यो पहिलो अवसर हो । विश्लेषकहरुले एप्पलले आफ्नो तेस्रो त्रैमासमा ६८.६७ अर्ब डलरको कारोबार गर्ने अनुमान गरेका छन् ।

उपत्यकामा बैंकका सबै शाखा खुला रहने Read Previous

उपत्यकामा बैंकका सबै शाखा खुला रहने

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ३ कम्पनीका लगानीकर्ता मालामाल Read Next

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ३ कम्पनीका लगानीकर्ता मालामाल