कोरोना महामारीको कारण एशियाली देशहरुमा विद्यालय बन्द हँुदा आगामी दिनहरुमा विद्यार्थीहरुको उत्पादकत्व र आम्दानीमा ठूलो असर पार्ने एशियाली विकास बैंकले जनाएको छ ।
विद्यार्थीहरुको भविष्यमा घट्न सक्ने आम्दानीको अहिले मूल्यमा हिसाब गर्दा त्यो करिब १.२५ ट्रिलियन डलर हुने अनुमान एशियाली विकास बैंकले गरेको छ ।
यस क्षेत्रका विद्यार्थीहरुको शैक्षिक वर्षको औसतमा एकतिहाई समय खेर गएको र त्यसले उनीहरुको भविष्यको आम्दानी २.४ प्रतिशतले घटाउने एशियाली विकास बैंकको अध्ययनले देखाएको छ । यो भनेको वार्षिक करिब १८० डलरको गिरावट भएको बैंकले उल्लेख गरेको छ । यसरी गुमाइएको आम्दानी सन् २०२० को यो क्षेत्रको कुल उत्पादनको ५.४ प्रतिशत हो ।
एशियाली क्षेत्रमा निकै थोरै देशहरुले मात्र सहज रुपमा विद्यालयहरु सञ्चालन गर्न सकेका छन् । एशियाली विकास बैंकका अनुसार दक्षिण एशियाली क्षेत्रका विद्यार्थीहरुले सबैभन्दा धेरै शैक्षिक सत्र गुमाएका छन् । बैंकका अनुसार यहाँका विद्यार्थीहरुले औसतमा शैक्षिक सत्रको आधा समय गुमाएका छन् ।
यसैगरी पूर्वी एशियाका विद्यार्थीहरुले ३९ प्रतिशत र दक्षिण पूर्वी एशियाका विद्यार्थीहरुले ३५ प्रतिशत शैक्षिक सत्र गुमाएका छन् ।
प्राय सबै देशहरुले अनलाइन प्रणाली मार्फत शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छन् । तर कम्प्युटर र इन्टरनेट जस्ता साधन स्रोतको सहज पहुँच नभएका कारण धेरै विद्यार्थीहरुले घरबाटै प्रभावकारी शिक्षा प्राप्त गर्न नसकेको बैंकले जनाएको छ ।