निषेधाज्ञामा बिहेका गाडी चलाउन पाइने, यी कार्यालयका कर्मचारीले अनुमति लिन नपर्ने

काठमाडौं । निषेधाज्ञाको समयमा विवाहका लागि प्रयोग गर्न गाडी चलाउन पाएने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बुधबार रातिदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

 

जिल्ला प्रशासनको नयाँ आदेश अनुसार विवाहका लागि प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने उल्लेख छ। तर उक्त सवारीमा दुलहा-दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ। तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।

 

यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्।  यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ।

 

मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नुपर्नेछ ।

 

डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ । खाद्य सामग्री अन्तर्गतको व्यवस्थामा डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ। यसअघि, बिहान १० बजेदेखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न भनिएको थियो।

 

काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा गरिएको छ ।

 

निषेधाज्ञाको समयमा साझा यातायात संचालन हुने Read Previous

निषेधाज्ञाको समयमा साझा यातायात संचालन हुने

खाना पकाउने ग्यासको अभाव नहुने, कति दिनको माग धान्ने स्टक छ ? Read Next

खाना पकाउने ग्यासको अभाव नहुने, कति दिनको माग धान्ने स्टक छ ?