सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्ड पालनामा लापरबाही, अब मास्क नलगाई चढे १०० रुपैयाँ जरिवाना

काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

 

धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर केही व्यक्तिले लापरवाही गर्नाले सार्वजनिक यातायात चढ्ने यात्रुमा कोरोना सङ्क्रमणको उच्च जोखिममा पर्ने खतरा बढेको छ । सार्वजनिक यातायातमा कोरोनाबाट बच्न जारी स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यान्वयन नहुँदा अनुगमन प्रभावकारी हुन नसकेको यात्रुको गुनासो छ ।

 

उपत्यकाको भित्री भाग विशेष गरी चक्रपथभित्र चल्ने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड बढी पालना भएको देखिए पनि उपत्यकाको काठ क्षेत्र एवं लामो दूरीका सवारीमा पालना हुन नसकेको ललितपुर बुङ्मतीका यात्रु जयराम महर्जनले गुनासो गरे । उपत्यकाको मुख्य भागमा चल्ने सवारीमा मापदण्डअनुसार नै यात्रु चढेको देखिए पनि काठ क्षेत्रमा चल्ने यातायातमा बिहान कार्यालय र बेलुका कार्यालय फर्कने समयमा भीड हुने गरेको छ ।

 

सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई मास्क दिएर मात्र यात्रा गराउनुपर्ने नियम सरकारले बनाए पनि प्रहरी कार्यालय आएपछि मात्र परिचालकले ‘कसैले मास्क लगाउनुभएको छैन कि ?’ भनी सोध्ने गरेका छन् । यात्रु चढ्ने बेलामै मास्क लगाएर मात्र यात्रा गर्नुस् भनेको नदेखिएको रत्नपार्कबाट भक्तपुरको कमलविनायक यात्रा गरिरहनुभएकी यात्रु सविना कोजुले सुनाइन् । सबै तहका सरकारले कानून बनाउने तर कार्यान्वयनमा ध्यान नदिने गरेकाले महामारीका बेला कोरोना जोखिम उच्च भएको उनको भनाइ छ ।

 

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा अनुगमन समितिको व्यवस्था भए पनि प्रभावकारी रुपमा काम गर्न नसक्दा सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना हुन नसकेको हो । स्थानीय सरकारले स्थानीय मार्गमा चल्ने सार्वजनिक यातायातमा अनुगमन गरेर नियमन गर्न नसक्ने देखिएको यात्रु कोजुको गुनासो छ । स्थानीयस्तरमा चिनिने भएकाले भावी निर्वाचनमा प्रभाव पर्न सक्ने डरले पनि उपप्रमुख नेतृत्वको अनुगमन समितिको प्रभावकारी हुन नसकेको हो । उपप्रमुख आगामी निर्वाचनका स्वाभाविक रुपमा प्रमुखको दावेदार हुने र अनुगमन एवं कारवाहीको प्रक्रियामा जाँदा चुनावको माहोल बिग्रने विश्लेषणले काम नभएको यात्रुको विश्लेष्ण छ ।

 

स्थानीय तहका अनुगमन समितिले बजार अनुगमन गर्नुपर्नेमा त्यो हुन सकेको छैन । उपभोग्य वस्तुको विना कारण मूल्य वृद्धि भइरहँदा पनि अनुगमन समिति मूकदर्शक मात्र बन्ने गरेको उपभोक्ता मञ्चका सदस्य रोशन पोखरेलले बताए। पछिल्लो समय तेल, तरकारीलगायत खाद्यपदार्थको मूल्य एकाएक बढेको छ ।

 

केन्द्रीयस्तरमा थोरै अनुगमन टोली

 

केन्द्रीयस्तरबाट यातायातको अनुगमन यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र वाणिज्य विभागले गर्ने गरेकामा त्यस्तो अनुगमन भएको नदेखिएको यात्रुको भनाइ छ । यस्ता निकायले प्रत्येका दिन गर्ने अनुगमन र प्राप्त तथ्य आफ्ना वेबसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरिनुपर्ने यात्रु सरिना विश्वकर्माको माग छ ।

 

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल भने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना भए नभएको अनुगमन भइरहेको दावी गर्नुहुन्छ । आज पनि कोटेश्वर क्षेत्रमा चल्ने सार्वजनिक यातायातमा अनुगमन भइरहेको उनले सुनाए । विभागले गर्ने अनुगमनमा ट्राफिक प्रहरी सहभागी हुने गरेको छ ।

 

विभागको अनुगमन टोली खटिने गरे पनि एउटै मात्र हुने भएकाले धेरैतिर गर्न कठिनाइ पर्ने गरेको छ । उपत्यकाका सबै स्थानीय तहका अनुगमन समितिलाई सक्रिय गराएर सार्वजनिक यातायातको अनुगमन गर्न पनि यात्रुले विभागको ध्यानाकर्षण गराउने गरेका छन् । विभागले अनुगमनका क्रममा सिट क्षमताभन्दा बढी यात्रुलाई झार्ने गरेको छ ।

 

अनुगमनका क्रममा अवस्था हेरी १०० देखि १ हजार रुपैयाँसम्म जरिवानासमेत गर्ने गरिएको विभागले जनाएको छ । मास्क नलगाई सार्वजनिक यातायातमा यात्रा गर्नेलाई पनि १०० जरिवाना गरिएको सूचना अधिकारी भुसालले बताए ।

जसरी घट्यो त्यसरी नै फर्कियो सेयर बजार, यी ११ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

जसरी घट्यो त्यसरी नै फर्कियो सेयर बजार, यी ११ कम्पनीका लगानीकर्ता मालामाल

लाइसेन्सको अनलाइन आवेदन बन्द, अब कहिले खुल्छ ? Read Next

लाइसेन्सको अनलाइन आवेदन बन्द, अब कहिले खुल्छ ?