काठमाडौं । सेयर बजार जुन गतिमा ओरालो झरेको थियो सोही गतिमा उकालो लागेको छ । आज एकै दिन झन्डै १०० अंकको कमब्याक भएको छ । पछिल्लो दुई दिनमै करिब १४० अंकले घटेको बजार आज ९५ अंकले उकालो लागेको हो ।
पछिल्लो दुई सातामा बजार २४० अंकले घटेको थियो । पछिल्लो समय कोरोनाका दोस्रो लहर फैलिएपछि लगानीकर्ता त्रसित हुँदा बजार निरन्तर ओरालो लाग्दै आएको थियो ।
कोरानाका बीच बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक वित्तीय विवरणहरु सार्वजनिक गरिरहेका छन् । जसले लगानीकर्तालाई केही राहत दिएको छ ।
आज सूचकमा उछाल आए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब डेढ अर्बले घटेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ९२.४६ अंकले बढेर२५९९.०७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ रुपैयाँ बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५५८.६३ अंकले बढेको छ ।
आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निफ्रा २१ करोड र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
उछाल आएको बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, विशाल बजार, माथिल्लो तामाकोशी, युनाइटेड फाइनान्स, समिट लघुवित्त, मल्टी प्रपोज फाइनान्स र ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
यसैगरी, छ्याड.दी हाइडोपावर, अरुण भ्याली, उन्नति सहकार्य लघुवित्त, युनाइटेड इदी मार्दी हाइडोपावरका लगानीकर्ता पनि ९ प्रतिशत बढी कमाएका छन् । बढ्दो बजारमा आज आइसीएफसी डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै १.९४ प्रतिशत गुमाएका छन् ।