महामारीलाई कमाउने मौका बनाउँदै व्यापारी, मनलाग्दी खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं । कोरोना महामारीलाई व्यापारीहरुले कमाउने मौकाको रुपमा लिन थालेका छन् । नियमित आयात भइरहेको र बजारमा पर्याप्त उपलब्धता रहे पनि व्यापारीहरुले मनलाग्दी खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको भाउ बढाएका हुन् ।

 

उपत्यकामा निषेधाज्ञा घोषणा गरिएसँगै बजारमा खाद्यान्नको माग सामान्य बढेपछि बजारमा रिटेल तथा होलसेल पसलहरुले खाद्यको मूल्य बढाएका हुन् ।

 

व्यवसायीहरु भारतका विभिन्न राज्यहरुमा लकडाउन भएसँगै नेपालमा आयात हुने सामग्रीको संख्यामा कमी आउन थालेको भन्दै मूल्य वृद्धि गरेका हुन् । साथै पेट्रोलियम पदार्थको मूल्य बढेसँगै ढुवानी खर्च समेत बढेकाले मूल्य वृद्धि हुन गरेको व्यवसायीहरुको भनाइ छ ।

 

नेपाल रिटेलर एसोशिएसनका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले ढुवानी महँगो हुँदा खाद्यको मूल्य समेत वृद्धि हुन गएको बताए ।

 

निजी क्षेत्रले खाद्य वस्तु ६ महिनासम्म राख्न गरेको भन्दै उनले इन्धनको मूल्य वृद्धि नै खाद्यको मूल्य वृद्धि हुनुका कारण हुन सक्ने बताए । ‘सामान लगातार आयात भइरहेको छ, इन्धनको मूल्य बढेको कारणले खाद्यमा पनि असर पर्न सकेको हुन्छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

श्रेष्ठका अनुसार चामलको मूल्य प्रतिबोरामा ५० रुपैयाँ वृद्धि भएको छ । केही दिन यता दाल तथा गेडागुडीमा ५ देखि ७ रुपैयाँ प्रतिकेजी वृद्धि भएको छ । चिनीमा ४ देखि ५ रुपैयाँ मूल्य वृद्धि भएको छ । अन्य अधिकांश खाद्यवस्तुमा पनि मूल्य वृद्धि भएको छ ।

 

भारतमा कोरोनाका कारण लकडाउन भएपनि आपूर्तिमा कुनै समस्या नआएको उनले बताए । निरन्तर विगतकै मात्रामा खाद्य आयात भइरहेको छ ।

 

यस्तै, हरियो तरकारी तथा फलफूलको समेत मूल्य बढेको छ । होटल तथा रेष्टरेन्ट लगायत तरकारी धेरै खपत हुने स्थानहरुमा खासै माग नभए पनि तरकारीको भाउ पछिल्लो एक सातामा दोब्बरसम्म वृद्धि भएको छ । निर्वाध आयात भइरहे पनि आपूर्ति कम भएको भन्दै व्यापारीहरुले तरकारीको पनि भाउ बढाएका हुन् ।

 

अनुगमन फितलो

 

बजारमा बिनाकारण दैनिक उपभोग्य वस्तुको भाउ बढे पनि सरकार भने यसबारे बेखबर रहेको छ । बजारमा हुने कालोबजारी रोक्न सक्रिय भूमिका खेल्नु पर्ने सरकारी निकाय बेवास्ता गरेर बसेको छ ।

 

बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कोरोनाको कारण देखाउँदै बजार अनुगमन सुस्त बनाएको छ ।

 

प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीहरुले आफूखुशी भाउ बढाउँदा कोरोनाको मारमा परेको उपभोक्ता झन् महँगीको चेपुवामा परेका छन् ।

उपत्यका छाड्नेको लर्को, बसपार्कमा बिहानैदेखि गाउँ जानेको भीड, टिकट पाउनै मुश्किल Read Previous

उपत्यका छाड्नेको लर्को, बसपार्कमा बिहानैदेखि गाउँ जानेको भीड, टिकट पाउनै मुश्किल

निषेधाज्ञाको समय सेयर बजार खुला हुन्छ कि बन्द ? Read Next

निषेधाज्ञाको समय सेयर बजार खुला हुन्छ कि बन्द ?