निषेधाज्ञा घोषणासँगै हवाई भाडा तेब्बरसम्म बढ्यो, कहाँको कति ?

काठमाडौं । बुधबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणासँगै उपत्यका बाहिरका गन्तव्यको हवाई भाडा ह्वात्तै बढेको छ ।

 

स्थानीय प्रशासनले काठमाडौँ उपत्यका छाड्न चाहनेलाई दुई दिनको समय दिएसँगै बाहिरेनेको संख्या बढ्न थालेपछि आन्तरिक उडानको भाडा तेब्बरसम्म वृद्धि भएको छ ।

 

कोरोनाको हटस्पट बनेको काठमाडौं छाड्न चाहनेको संख्या वृद्धि भई यात्रुको चाप बढ्दा अधिकांश आन्तरिक गन्तव्यको हवाई भाडा वृद्धि भएको हो ।

 

यात्रुको चाप एक्कासी बढेपछि आन्तरिक हवाई सेवा प्रदायकहरुले धमाधम भाडा बढाएका हुन् । सामान्यतया हवाई भाडा यात्रु चापका आधारमै निर्धारण हुने गर्दछ । भाडा वृद्धि भए पनि मंगलबारका लागि अधिकांश स्थानको टिकट बुक भइसकेको विमान कम्पनीहरुले बताएका छन् ।

 

सामान्य अवस्थामा काठमाडौँ भद्रपुर हवाई भाडा ३ हजारदेखि ४ हजार रुपैयाँसम्म बढेर ९ हजारसम्म पुर्याइएको छ । मंगलबारका लागि यस रुटको भाडा यति एयरलाइन्सको ८ हजार, श्री एयरलाइन्सको ९ हजार, र सौर्य एयरलाइन्सको ६ हजार ८५० रुपैयाँ भाडा छ।

 

यस्तै, बुद्ध एयरले मंगलबार बिहानका उडानमा ६ हजार ६५३ र दिउँसोका लागि ८ जहार ९२१ रुपैयाँ भाडा तोकेको छ ।

 

यसैगरी मंगलबारका लागि काठमाडौँ विराटनगर रुटको भाडा ७ हजारसम्म पुगेको छ । यसदिन विराटनगरका लागि सौर्य एयरलाइन्सले विभाडा ५ हजार ९००, यति एयरलाइन्सको भाडा ७ हजार १६५ रुपैयाँ र बुद्ध एयरको ६ हजार ७०० रुपैयाँ भाडा छ। सामान्य अवस्थामा काठमाडौँबाट विराटनगर जान ३ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म हवाई भाडा लाग्छ ।

 

यसैगरी, मंगलबार काठमाडौँबाट धनगढी जान बुद्ध एयरलाइन्सको भाडादर करिब ११ हजार रुपैयाँ भाडा छ। सामान्य अवस्थामा काठमाडौँबाट धनगढी जान ४ देखि ५ हजार रुपैयाँसम्म हवाई भाडा लाग्छ।

 

यसैगरी, मंगलबारका लागि काठमाडौं पोखरा रुटको भाडादर ३ हजार रुपैयाँसम्म रहेको छ । यस दिनका लागि बुद्ध एयरको २ हजार ८९५ रुपैयाँ, यति एयरलाइन्सले २ हजार ७९५ रुपैयाँ रहेको छ । सामान्य अवस्थामा यस रुटको भाडादर १७०० देखि २ हजार रुपैयाँसम्म हुने गर्थ्यो ।

 

यसैगरी, काठमाडौं नेपालगञ्ज रुटको यति एयरलाइन्सको भाडा ७ हजार १९४ रुपैयाँ, बुद्ध एयरको ८ हजार ४९२ रुपैयाँ रहेको छ । सामान्य अवस्थामा यस रुटको भाडादर ४ हजार हाराहारीमा हुन्थ्यो ।

 

मंगलबारका लागि अधिकांश गन्तव्यमा भाडादर वृद्धि भएको छ भने टिकट समेत बुक भइसकेका छन् ।

पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्न चेम्बरको सुझाव Read Previous

पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्न चेम्बरको सुझाव

माछापुच्छ्रे बैंकले कमायो सवा १ अर्ब बढी खुद नाफा, यस्ता छन् अन्य सूचक Read Next

माछापुच्छ्रे बैंकले कमायो सवा १ अर्ब बढी खुद नाफा, यस्ता छन् अन्य सूचक