सेयर बजारमा लगातार भीषण पहिरो, अझै कहिलेसम्म कायम रहला ओरालो यात्रा ?

काठमाडौं । सेयर बजारमा लगातार भीषण पहिरो गएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको बजार यस साता पनि तीव्र गतिमा ओरालो लागेको छ ।

 

गत साता करिब १०० अंकले घटेको बजार यस साता दुई दिनमै १४० अंकले घटेको छ । पछिल्लो ७ कारोबार दिनमा नेप्से २४० भन्दा बढी अंकले घटिसकेको छ ।

 

कोरोनाको दोस्रो लहर शुरु भएसँगै लकडाउन हुने हल्लाले लगानीकर्ताको मनोबल गिर्दा बजारमा असर देखिएको आकलन गरिएको छ ।

 

१६ गतेदेखि उपत्यकामा निषेधाज्ञा हुने खबर बाहिरिएपछि लगानीकर्ता झन निराशावादी हुँदा आज पनि बजारमा ठूलो गिरावट आएको हो । नेप्सेमा सूचीकृत कम्पनीहरुले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहे पनि कोरोना त्रासले बजारमा ठूलो गिरावट आएको हो । लगानीकर्ताको मनोबल गिरिरहेकाले अझै केही समय बजार ओरालो नै लाग्नसक्ने सम्भावना देखिन्छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.६१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२० कम्पनीको ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रुपैयाँ बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर किनबेच भएका छन् ।

 

आइतबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३८४.५३ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २२० कम्पनीमध्ये जम्मा २० कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १२ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा निफ्रा २५ करोड र नेपाल पुनर्बीमा कम्पनीको २० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र विशाल बजार कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज रिलायन्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.०६ प्रतिशत गुमाएका छन् ।

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने, के-के खुल्छन्, के बन्द हुन्छन् ? Read Previous

१६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने, के-के खुल्छन्, के बन्द हुन्छन् ?

लक्ष्मी बैंकद्धारा 'एपीआइ डेभलपर’ प्लाटफर्मका लागि साझेदारी आह्वान Read Next

लक्ष्मी बैंकद्धारा 'एपीआइ डेभलपर’ प्लाटफर्मका लागि साझेदारी आह्वान