काठमाडौं । कुमारी बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण खुद नाफमा ७८.५८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा ७९ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले १ अर्ब १ करोड २७ रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन आम्दानी र गैर सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।
बैंकको खुद ब्याज आम्दानी भने ३९.०४ प्रतिशतले बढेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालू वर्षको सोही अवधिमा यस्तो आम्दानी बढेर ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ७४.४१ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

हाल १३ अर्ब ८७ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ८० करोड, सेयर प्रिमियममा ८ करोड ८८ लमख र रिटेन अर्निङमा १ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा ९८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १०.७८ रुपैयाँबाट बढेर १७.३७ रुपैयाँ पुगेको छ । बैंकले खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.०९ प्रतिशत पुगेको
छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३५.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.८८ प्रतिशत, बेसरेट ७.६३ प्रतिशत र सीसीडी रेसियो ८१.२३ प्रतिशत रहेको छ ।