काठमाडौं । धरहराको बाहिरी स्वरुप ठडिएसँगै भोलि वैशाख ११ गते धरहराको उद्घाटन हुने भएको छ । ०७२ साल वैशाख १२ गते आएको महाभूकम्पमा भत्किएको धरहराको ६ वर्ष पछि उद्घाटन हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा धरहरा उद्घाटन हुने भएको हो ।
यद्यपि भोली उद्घाटन हुन लागेको धरहराको पुनर्निर्माण सकिएको भने छैन । हालसम्म धरहराको निर्माणको कुल ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ । अबको ८ महिनामा धरहरा निर्माण सम्पन्न गरी हस्तान्तरणा गर्ने योजना पुनर्निर्माण प्राधिकरणको रहेको छ ।
हालसम्म धरहरा पूरै ठडिइसकेको भएपनि अझै गर्नु पर्ने धेरै काम बाँकी नै रहेका छन् । ट्रिपल बेसमेन्ट, साइट पार्किङ, फिनिसिङ लगायतका धेरै काम अझै बाँकी रहेको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल प्रसाद अर्यालले बताए । आगामी मंसिरदेखि मात्र औपचारिक रुपमा सर्वसाधरणलाई चढ्न खुला गरिने जनाइएको छ ।
पछिल्लो समय सरकारले तीव्र ढंगले विकास निर्माणको काम गरिरहेको भनेर जनतामा विश्वास दिलाउन प्रधानमन्त्री ओलीको दौडधुप निकै बाक्लिएको छ । केही महिनायता मात्र उनले ३०० भन्दा बढी साना ठूला आयोजनाहरुको शिलन्यास र उद्घाटन गरिसकेका छन् ।
आयोजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने खाले कुनै नीतिगत सुधारको काम नगरेका प्रधानमन्त्रीले उद्घाटन र शिलन्यासमा भने अत्याधिक रुची देखाएका छन् ।
त्यसैको पछिल्लो कडी स्वरुप करिब ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको धरहराको उनले हतार हतार उद्घाटन गर्न लागेका हुन् । हाल धरहरामा सुनको गजुर हाल्ने काम भइरहेको छ । प्राधिकरणले ७५ तोला खरिद गरेर गजुरमा ९५ तोला सुनको जलप लगाइएको छ । विगतमा धरहराको भग्नावशेषबाट २० तोला सुन निकालिएको थियो ।

पछिल्लो समय धरहरामा संग्राहलय निर्माणका साथै रङ लगाउने काम पनि भइरहेको छ । धरहरामा भर्याङसँगै लिफ्ट पनि राखिएको छ । दुई वटा लिफ्टमध्ये एउटा सञ्चालनमा आएको छ । अर्को लिफ्ट राख्ने काम हुँदैछ । एउटा लिफ्टमा एक पटकमा १० जना उभिन मिल्छ । धरहराको संरचना अपाङ्गमैत्री छ ।
यस्तै धरहरामा पार्किङ निर्माणको काम ६० प्रतिशत हाराहारीमा सम्पन्न भएको छ । पहिले ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । २२ तले धरहराको तीन तल्लासम्म पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७ सय मोटरसाइकल अट्नेछन् ।
आगन्तुकहरुका लागि आधुनिक शैलीमा धरहरा बनाउन जग्गा अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन खाली गराएको थियो ।
धरहरा निर्माण भइसकेपनि धरहरा वरिपरी निर्माण गर्न बाँकी रहेको सौन्दर्यकरण तथा मण्डला पोण्ड, वाटर फाउनटेन लगायतका निर्माण गर्न बाँकी रहेको प्रवक्ता अर्यालले बताए ।
हालसम्म २ अर्ब खर्च
हालसम्म धरहरा निर्माणका क्रममा २ अर्ब रुपैयाँ हाराहारी खर्च भइसकेको छ । धरहरा निर्माण आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
यस अघि धरहराको पुनर्निर्माण २०७७ साल कात्तिक मसान्तसम्ममा सक्ने लक्ष्य राखेको थियो । तर, कोभिड–१९ का कारण र विभिन्न विवादका कारण धरहराले गति लिन सकेन । यसकारण धरहरा पुनर्निर्माण पुरा गर्नका लागि २०७८ पुस १० गतेसम्मका लागि म्याद थपिएको थियो ।
धरहरा पहिलेकैझैं चुनढुङ्गाबाट मौलिक संरचनामा नभइ आधुनिक शैलीमा निर्माण हुन लागेको हो । धरहरा बाहिर हेर्दा जुद्ध शमशेरले बनाएको जस्तो देखिएपनि पहिलेको भन्दा निकै भिन्न र आधुनिक हुनेछ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस १२ गते धरहरा पुर्नर्निर्माण शिलन्यास गरेका थिए । साविकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा अहिले धरहरा निर्माण भइरहेको छ ।
पुनर्निर्माण प्राधिकरणले १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्नेगरी संचालनमा ल्याउने जनाएको छ । हाल बनेको धरहरा पहिलाको भन्दा १० मिटर पर रहेको छ ।
भूकम्पपछिका चार वर्ष विवादमै रहेको धरहरा निर्माणको लागि प्रधानमन्त्री ओलीले ‘मै बनाउँछु, मेरो धरहरा’ भन्ने नारा सहितको अभियान समेत चलाएका थिए । अभियानको गति त्यति प्रभावकारी हुन नसकेपछि पुनर्निर्माण प्राविधिकरणलाई जिम्मा दिएको थियो ।
पुननिर्माण प्राधिकरणले जिम्मा पाएपछि निर्माण तिव्रताका साथ अघि बढेको छ । वि.सं.१८८२ मा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरी देवीको सम्झना स्वरुप बनाएको उक्त धरहरा त्यसको १ सय ८ वर्षपछि वि.स. १९९० को भूकम्पले भत्किएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनर्निर्माण गराएका थिए ।