मुख्य सिजनमै सुनको अभाव, मागको आधा मात्र आपूर्ति, व्यवसायीलाई माग धान्न धौ धौ

काठमाडौं । व्यापार हुने मुख्य सिजनमा सुनको अभाव भएको छ । वैशाख शुरु भएसँगै विवाह, पास्नी लगायत सुन खपत हुने कार्यक्रमहरु बढ्दै गएकाले सुनको माग अधिक छ । तर, मागको तुलनामा आपूर्ति कम हुँदा बजारमा सुनको अभाव देखिएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बिहेको सिजन शुरु भएकाले माग ह्वात्तै बढेको बताए । ‘अहिले बिहे, व्रतबन्ध, पास्नी लगायत सुनचाँदी लगायत गरगहना खपत हुने कार्यक्रम बढ्न थालेका छन् । जसले बजारमा सुनको माग ह्वात्तै बढेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘माग झन्डै दोब्बरले बढे पनि आपूर्ति मागको आधा मात्र हुँदा व्यवसायीलाई माग धान्न धौ धौ भएको छ ।’

 

डिलरहरुका अनुसार बजारको माग विगतकै समयमा पुग्न खोजिरहेको छ । सुनको माग पूरा गर्न दैनिक ४० केजी सुनको आवश्यक पर्ने महासंघको भनाइ छ । तर, सरकारले सुन आयातमा कोटाको तोक्दा माग अनुसारको सुन उपलब्ध हुन सकेको छैन ।

 

सरकारी कोटा अनुसार दैनिक २० केजी सुन आयात गर्न पाउने व्यवस्था छ । सरकारले चैत्र अन्तिम सातादेखि सुनको आयात दैनिक २० केजी पुर्याएको हो । त्यस अघि दैनिक सुन आयात कोटा १० केजीसम्म मात्र रहेको थियो । सुनको आयात कम भएसँगै बजारमा सुन अभाव देखिएको शाक्यले बताए ।

 

‘सरकारले २० केजी सुन दैनिक आयात गर्न पाउने तोकेको छ, माग ४० केजी छ, यस्तोमा बजारको माग पूरा गर्न सकिएको छैन,’ शाक्यले भने । आयातमा लगाइएको कोटाले फस्टाउँदै गरेको सुन व्यवसायलाई धरापमा पार्न सक्ने उनले बताए ।

 

उनका अनुसार सामान्य समयमा सुनको माग दैनिक २५ केजी रहेको थियो । महासंघले धेरै पटक सुनको आयात कोटा बढाउन माग गरे पनि सरकारले माग पूरा गर्न सक्ने जति कोटाको व्यवस्था गर्न सकेको छैन ।

 

माग धेरै भए पनि सो अनुसार सुन नपाउँदा ग्राहकको माग धान्न धौ धौ परेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । ‘आफूले चाहे जति सुन किन्न पाउने अवस्था छैन, कोटाका कारण मागको आधामात्र किन्न पाइन्छ,’ न्यूरोडका एक व्यवसायीले भने, ‘उपलब्ध सुनले ग्राहकको अर्डर अनुसार उपलब्ध गराउन गाह्रो भइरहेको छ, कहिले काँही चिनजानका पसलबाट सापटी ल्याएर समेत काम चलाइरहेका छौं ।’

 

यता, नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले सुनको कोटा थप्ने विषयमा छलफलको बेला नभएकोे बताए । उनले हाल छलफल नभएपनि मौद्धिक नीति आघि छलफल हुने बताए । ‘तत्काल कुनै छलफल भएको छैन, अब छलफलको समय आउँदै छ, असारमसान्त पछिसम्म टुंगो लाग्ने छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।

 

वैशाख लागेसँगै कारोबार बढ्न थालेपछि मूल्य पनि लगातार बढ्न थालेको छ । चैत अन्तिम साता प्रतितोला ८८ हजार रुपैयाँ सुनको भाउ डेढ हप्तामै बढेर ९२ हजार पुगिसकेको छ ।

 

अन्तर्राष्टिय बजारमा पनि सुनको भाउ बढ्न थालेकाले नेपालमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ । विश्वभर कोरोनाको दोस्रो लहर शुरु भएसँगै लगानीकर्ताहरु सुरक्षित लगानीको रुपमा सुनमा आकर्षित हुँदा फेरि भाउ आकाशिन थालेको हो ।

अब १ घण्टामै डिम्याट खाता खोल्न सकिने Read Previous

अब १ घण्टामै डिम्याट खाता खोल्न सकिने

आजदेखि जेठ २५ सम्म भीमफेदी-कुलेखानी-सिस्नेरी सडक बन्द, यस्तो छ वैकल्पिक रुट Read Next

आजदेखि जेठ २५ सम्म भीमफेदी-कुलेखानी-सिस्नेरी सडक बन्द, यस्तो छ वैकल्पिक रुट