यी दुई एशियाली अर्थतन्त्र, जसले विश्वव्यापी आर्थिक मन्दी र कोरोना महामारीलाई समेत टारे

काठमाडौं । दक्षिण कोरिया र अष्ट्रेलिया विश्वकै त्यस्ता अर्थतन्त्र बन्न सफल भएका छन् जसले कोभिड –१९ को प्रभावलाई धेरै हदसम्म न्यूनीकरण गर्न सफल भएका छन् । यी दुई देशहरूको चीनको आर्थिक वृद्धिसँग गहिरो सम्बन्ध छ । त्यसका अलावा यी दुई अर्थतन्त्रका आफ्नै खाले विशेषता पनि रहेका छन् ।

 

यी दुई अर्थतन्त्रमा समानता भने उति धेरै छैन । दक्षिण कोरिया अहिले उत्पादन ‘पावरहाउस’को रुपमा रहेको छ । यो अर्थतन्त्रको मुख्य शक्ति भनेको दक्ष जनशक्ति हो । उता अष्ट्रेलियाको मुख्य शक्ति भनेको आफ्नो विशाल देशमा रहेका विभिन्न खाले स्रोतहरू हुन् ।

 

यी दुई अर्थतन्त्रको समानता भनेको चीनसँगको गहिरो सम्बन्ध हो । कोरियाको २५ प्रतिशत निर्यातको बजार चीन हो । अष्ट्रेलियाको कुल निर्यातको ४३ प्रतिशत हिस्सा चीनले ओगटेको छ ।

 

तर चीनसँगको सम्बन्धले मात्र यी दुई अर्थतन्त्र अहिलेको अवस्थामा निकै सफल भएका भने होइनन् । एशियाका अन्य धेरै देशहरूको पनि चीनसँग गहिरो आर्थिक सम्बन्ध छ । उदाहरणको लागि जापानलाई नै लिन सकिन्छ । तर यी धेरै अर्थतन्त्र महामारीको यो संकटमा खरो उत्रन सकेका छैनन् ।

 

यी दुई अर्थतन्त्र बीचको अर्को समानता भनेको यिनीहरूले महामारीको नियन्त्रणमा पाएको अभूतपूर्व सफलता पनि हो । कोरियाले कोरोना संक्रमितहरूको संख्या १ लाख १५ हजार हाराहारीमा सीमित गर्न सकेको छ । यो भनेको उस्तै आकारका अन्य देशहरूको भन्दा निकै कम हो ।

 

‘यी अन्य भन्दा फरक जोडी हुन्,’ अर्थशास्त्री सउल इस्लेक भन्छन्, ‘यिनीहरू एउटै टाइम जोनमा छन् । कोरिया कच्चा पदार्थको आयातकर्ता हो भने उच्चस्तरको उत्पादनको निर्यातकर्ता हो ।’

 

इस्लेकका अनुसार आर्थिक वृद्धिलाई टेवा पुर्याउने जनसंख्या, सहभागीता र उत्पादकत्व मध्ये अष्ट्रेलियासँग जनसंख्या र कोरियाको लागि उत्पादकत्वको साथ भएको उनको भनाइ छ । अर्का अर्थशास्त्री पार्क सोङ–हुनका अनुसार यी दुई देशको मुद्राको मूल्य पनि बढ्नेछ, जोखिमको यो समयमा ।

 

यी दुई अर्थतन्त्रले सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीलाई पनि छल्न सफल भएका थिए । अहिलेको भाइरसको पनि प्रभाव न्यूनीकरण गर्न सफल यी दुई देश बीच पनि केही आर्थिक सम्बन्ध छन् ।दक्षिण कोरिया अष्ट्रेलियाको चौथो ठूलो व्यवसायीक साझेदार हो भने यिनीहरूले सन् २०१४ मा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए ।

 

चर्चित अडिट फर्म अर्नेस्ट एण्ड योङले अहिलेको समयमा राम्रो आर्थिक र स्वास्थ्य उपलब्धी हासिल गर्ने देशहरूको सूची निकालेको थियो । उक्त सूचीमा पनि डेनमार्क र न्युजिल्याण्डसँगै अष्ट्रेलिया र दक्षिण कोरिया पनि अटाउन सफल भएका छन् ।

 

चीनसँगको यी दुई देशको गहिरो सम्बन्ध जोखिम रहित भने छैन । दक्षिण कोरियाले सन् २०१७ मा अमेरिकाको ‘एन्टी मिसाइल सिस्टम’ लागु गरेपछि चीनले दक्षिण कोरियासँगको पर्यटकिय सम्बन्ध बहिष्कार गरेको थियो ।

 

यसैगरी अष्ट्रेलियाले कोरोना भाइरसको उत्पत्तिका सम्बन्धमा युहानमा गएर स्वतन्त्र अनुसन्धान गर्न दिनुपर्ने मत राखेपछि कोइला, वाइन र जौको व्यापारका सन्दर्भमा विभिन्न खाले चिनीयाँ कदमहरूको सामना गरेको थियो ।

कोरोनाको दोस्रो लहर बढेपछि धितोपत्र बोर्डले जारी गर्‍यो यस्तो ६ बुँदे निर्देशन Read Previous

कोरोनाको दोस्रो लहर बढेपछि धितोपत्र बोर्डले जारी गर्‍यो यस्तो ६ बुँदे निर्देशन

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि वृद्धि, कहाँको कति बढ्यो ? (सूचीसहित) Read Next

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि वृद्धि, कहाँको कति बढ्यो ? (सूचीसहित)