काठमाडौं । काठमाडौं भ्यू टावर निर्माण धमाधम अगाडि बढिरहेको छ । पछिल्लो समय तीव्र गतिमा अघि बढेको काठमाडौं भ्यू टावर निर्माण अन्तर्गत अन्डरग्राउण्डको ३ तल्ला बनाउने काम सकेको छ । अन्डर ग्राउण्ड भन्दा माथिल्लो चरणमा चौथो तल्ला थप्ने काम भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले भ्यू टावरको अन्डरग्राउण्ड निर्माण सकिएसँगै स्ट्रक्चर कमिटीलाई अध्ययनका लागि पठाउने तयारी गरेको छ । उक्त समितिले अन्डरग्राण्ड स्ट्रकचर बसपार्क सार्न उचित भनेसँगै बसपार्क त्यहाँ सारीने महानगरपालिका प्रमुख प्रशासक अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
‘स्ट्रक्चर अध्ययन समिति टोलीको रिपोर्टमा जे आउँछ त्यही निर्णय गरिनेछ, उनीहरुले बसपार्क सार्न योग्य छ, अब सार्दा हुन्छ भन्न साथ हामी बसपार्क सार्ने छौँ,’ उनले चाणक्य पोष्टसँग भने ।
काठमाडौं महानगरपालिका र बिकोइ विल्डर्स प्रालिबीच सम्झौता भए अनुसार ६ वर्षमा भ्यू टावर निर्माण सम्पन्न गरिने छ । भ्यू टावर निर्माणता मनोज भेटुुवालले भने भ्यू टावरको प्रगति लिन ६ महिनापछि सम्पर्क गर्न आग्रह गरेका छन् ।
महानगरपालिकाले अन्डरग्राउण्डको काम सकिएपछि बसपार्क सार्ने सम्झौता भएको भन्दै बस सार्ने तयारी अघि साकेको हो । रत्नपार्क सारिएको बसपार्क भूटावरको ३ तल्ला निर्माण पछि अन्डरग्राउण्डमा राख्ने योजना महानगरको रहेको छ ।
टावरको सबैभन्दा तल्लो तल्लामा बस पार्किङ स्थल बनाइने छ । त्यसको माथि दोस्रो तल्लामा हलुका गाडी पार्किङ स्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालय समेत रहनेछन् ।
विसं २०७१ फागुन २२ मा स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच सम्झौता भएको थियो । भ्यू टावर २०७२ कात्तिक २५ गते उपराष्ट्रपतिबाट शिलान्यास भएको थियो ।
महानगरपालिका अन्तर्गत भौतिक विकास प्रमुख राम थापाका अनुसार कोभिड १९ का कारण केही ढिला भएकाले १ वर्ष समय थप गरिएको छ । सो समय समेत बित्नै लागेको छ । भ्यूटावर निर्माणकर्ता मनोज भेटुवालले थपेको समयमा पनि बेसमेन्ट क्लीयर गरेर बसपार्क सार्न दिनुपर्ने छ ।
नदिएको खण्डमा भवन निर्माण नभए पनि त्यसको भाडा महानगरपालिकालाई अनिवार्य तिर्नु पर्ने उनले बताए । हाल बसपार्क क्षेत्रको भाडा भ्यूटावर सञ्चालक भेटुवालले प्रत्येक वर्ष ६५ लाख रुपैयाँ तिर्नु परिरहेको छ । भवन निर्माण अवधिसम्म निर्माण पुरा नभएको खण्डमा उनले महानगरपालिकालाई भ्यूटावरको रकम ७० लाख वार्षिक तिर्नु पर्ने छ । सो रकम प्रत्येक वर्ष बढ्दै जाने पूर्वाधार प्रमुख थापाले बताए ।
‘निर्माणमा जति ढिलाई गर्यो त्यति उसैलाई घाटा छ, भ्यूटावर बने भाडा उठाएर पैसा तिर्न उसैलाई सजिलो हुने हो, अब म्याद सकिएपछि भ्यू टावर बने पनि नबने पनि भाडा तिर्नै पर्छ,’ थापाले चाणक्य पोष्टसँग भने ।
दैनिक १०० जना जनशक्तिले निर्माण गरिरहेको सो भ्यू टावर कोभिडका कारण ८ महिना ठप्प रहेको थियो । भ्यू टावरमा जमिनमाथि ११ र जमिनमुनि तीन तला निर्माण गर्ने सम्झौता भएको थियो ।
कम्पनीले निर्माणको काम भने २०७३ साउन ३० गतेबाट शुरु गरेको थियो । सम्झौतानुसार ५ वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् ।
सम्झौतानुसार निर्धारित समयमा नै काम नसकेमा एक पटक दुई वर्षका लागि समय थप्न मिल्ने छ । भ्यू टावर निर्माणको लागत ४ अर्ब ७० करोड पुग्ने अनुमान गरिएको छ ।
भ्यू टावरका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा टावर बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो टावर नेपाली कला संस्कृति झल्किने खालको हुनेछ । टावर निर्माण भएर सञ्चालनमा आए ५ हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने बताइएको छ