काठमाडौं । पछिल्लो समय बजारमा कुखुराको मासुको मूल्य अचाक्ली वृद्धि भएको छ । कुखुराको चल्लाको मूल्य वृद्धि भएसँगै कुखुराको मासु अहिलेसम्मकै महँगो भएको हो ।
बजारमा कुखुराका मासुको मूल्य प्रतिकेजी ४४० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गत असारमा कुखुराको मासुको मूलय सर्वाधिक ४०० रुपैयाँ पुगेको थियो । असार यता निरन्तर घटेको कुखुराको भाउ प्रतिकेजी २९० रुपैयाँसम्म आएको थियो ।
बजामा कुखुराका चल्लाको मूल्य ८० रुपैयाँदेखि ९० रुपैयाँसम्म पुगेको छ । यस अघि कुखुराका चल्लाको मूल्य २० रुपैयाँदेखि ४० रुपैयाँ रहेको थियो ।
ह्याचेरी संघका अध्यक्ष टिकाराम सापकोटाले पछिल्लो समय कुखुराको मासुको माग बढेसँगै मासुको मूल्य समेत बढेको बताए । साथै बजारमा कुखुराका चल्लाको माग बढेको र सप्लाई कम भएको उनले बताए ।
‘बजारमा कुखुराको मासुको माग बढी रहेको छ, चल्ला कम भएकाले कुखुराको माग पूरा हुन सकेको छैन, हामी बजारको माग पूरा गर्नतर्फ लागि रहेका छौँ,’ सापकोटाले भने । तत्काल सप्लाई बढ्ने सम्भावना नरहेकाले भाउ अझैबढ्न सक्ने उनको भनाइ छ ।
अझै एक/डेढ महिना आपूर्ति बढ्ने सम्भावना नरहेकाले कुखुराको मासु प्रतिकिलो ५०० रुपैयाँसम्म पुग्न सक्ने व्यवसायीहरु बताउँछन् । पछिल्लो समय नयाँ वर्ष, चैते दशैं लगायत चाडपर्व तथा विवाहको समेत सिजन रहेकाले मासुको माग अधिक रहेको उनीहरुको भनाइ छ ।
कुखुराको मासु दैनिक ९ लाख केजी विक्री हुने गरेको छ । एउटा कुखुराको लागत मूल्य २०० रुपैयाँ हुने गरेको छ । कुल ९ लाख कुखुराको उत्पादन लागत १८ करोड रुपैयाँ हुने गरेको छ ।दाना आयातसँगै मूल्य समेत बढेको छ भने कुखुराको उत्पादन खर्च बढेपछि मूल्य वृद्धि गर्न बाध्य भएको उनले बताए ।
दैनिक ३ हजार मेट्रिकटन दाना माग रहेको छ । दाना नेपालमै उत्पादन हुने भए पनि दाना बनाउन कच्चा पदार्थभने विदेशबाटै ल्याउनु पर्ने अवस्था रहेको छ ।
उनका अनुसार दानाका लागि मकै र भटमासको पिना आयात गरिने गरेको छ । दाना बनाउन आवश्यक ७० प्रतिशतबढी पिना अहिले पनि विदेशबाटै आयात भइरहेको छ । दाना बनाउन वर्षेनी १० अर्ब रूपैयाँ बढीको कच्चा पदार्थ आयात हुँदै आएको छ ।
उनका अनुसार देशभर प्रतिहप्ता ३० लाख हाराहारीमा बोइलर कुखुरा उत्पादन हुने गरेका थिए । प्रतिहप्ता बोइलर कुखुराको उत्पादन लागत ७५ रुपैयाँ हुने गर्छ । कुल बोइलर कुखुरा उत्पादनको लागत मूल्य १७ करोड १० लाख रुपैयाँ रहेको छ । उत्पादन भएका मध्ये १५ लाख बोइलर कुखुरा मात्र विक्री हुने गरेका छन् । सो कुखुराका चल्ला प्रतिगोटा २० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यता रहेको थियो । बोइलर कुखुरामा प्रति हप्ता १४ करोड १० लाख रुपैयाँ नोक्सानी बेहोर्नु पर्ने अवस्था व्यवसायी लगडाउनमा रहेको थियो ।
लागत खर्च बढि भएपछि माग समेत बढ्नाले चल्ला अभावका साथै कुखुराको मासुको मूल्यमा ठूलो वृद्धि आएको हो ।उनले ४५ लाख कुखुराको चल्ला माग भएकोमा १५ लाख अझै कमि भएको बताए ।
कोभिड १९ का बीच पोल्ट्री व्यवसायले समय चल्ला विक्री गर्न पाएका थिएनन् । सो कारण पोल्ट्री व्यवसायीहरुले दैनिक २ करोड ७ लाख ८५ हजार रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो ।
अध्यक्ष सापकोटाका अनुसार कोभिडका समयमा लकडाउन हुँदा एक सातामा चल्लामा कुल लागत मूल्य १८ करोड ९० लाख रुपैयाँ हुने गरेको थियो । सोही चल्ला ४ करोड ३५ लाख रुपैयाँ हाराहारीमा विक्री हुने गरेका थिए । पोल्ट्री व्यवसायीहरुले कुखुराको चल्लामा साताको १४ करोड ५५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको थियो । सो समयमा कुखुराको मासुसँगै चल्लाको मूल्य समेत घटेको थियो ।