काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइतबार करिब ३६ अंकले घटेको बजार आज पनि सोभन्दा बढी अंकले ओरालो लागेको छ । पछिल्लो दुई दिनमा बजार ७३ अंकले घटेको छ ।
सूचकसँगै कारोबार रकमा पनि ठूलो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २ अर्ब रुपैयाँले घटेको छ ।
यसअघि सेयर उठाएकाहरुले प्रफिट बुक गर्दा बजारमा गिरावट आएको लगानीकर्ताको भनाइ छ । निरन्तर बढेको बजारमा करेक्शन आउनु सामान्य भएकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ६ अर्ब ७५ करोड ९४ लाख ५९ हजार ८६० रुपैयाँ बराबरको १ करोड ४१ लाख ९० हजार ६६१ कित्ता सेयर किनबेच भएका छन् ।
सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र वित्त समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा धेरै २४०.८३ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१३ कम्पनीमध्ये जम्मा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल २४ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २३ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज चन्द्रागिरी हिल्सको सेयर मूलयमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।