काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गतसाता दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो ।
सूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । पौने ९ अर्ब बढीको कारोबार भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०७ कम्पनीको ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् ।निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १८३.१९ अंकले घटेको छ ।
आज कारोबारमा आएका २०७ कम्पनीमध्ये ४४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्यमा गिरावट आएको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ८७ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनआइसीस् एशिया लघुवित्त ५५ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज गुडविल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ५.०९ प्रतिशत गुमाएका छन् ।