काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को स्टार्टअप एण्ड इनोभेशन समितिले कार्ययोजना अनुसार मेन्टरसिप सहयोगसहित लगानीकर्ताहरूसँग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसँग आजबाट आवेदन आह्वान गरेको छ ।
आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेबसाइट मार्फत प्राप्त गर्न सकिने छ ।
महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।
एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन, आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेसनहरू, प्यानरभ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ ।
आवेदनमा सहभागी हुनको लागि महासंघको वेबसाइटमा क्लिक गर्नुहोला ।