घाटा थेग्नै नसक्ने अवस्थामा निगम, पाक्षिक ८० करोड नोक्सानी, किन जाँदैछ निरन्तर घाटामा ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आउने उतारचढावले नेपाल आयल निगमको घाटा न्यूनीकरण गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।

 

विश्वबजारमा पेट्रोलियमको मूल्यमा आउने अन्तरले निगम चर्को दबाब पर्ने गरेको छ । पछिल्ला १५ दिनको तुलनामा फेरि भारतीय आयल निगम (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भएर आएको छ ।

 

पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ ५४ पैसा, डिजेलमा एक रुपैयाँ २७ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर करीब ४१८ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । आइओसीले प्रत्येक अंग्रेजी महीनाको १ र १६ तारिखमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

 

पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै पाक्षिक घाटा ८० करोड रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ । पछिल्लो १५ दिनमा मात्रै एलपी ग्यासमा ६० करोड रुपैयाँ घाटा पुग्ने अनुमान गरिएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा घाटा रहे पनि मट्टितेल र हवाई इन्धनमा भने केही नाफा रहेको छ ।

 

मट्टितेल र हवाई इन्धनको खपत न्यून रहेकाले निगमको घाटा पूर्तिमा त्यसले उल्लेख्य हिस्सा ओगट्न सकेको छैन । गत मार्च महिनामा ६० हजार किलोलिटर पेट्रोल, दुई लाख तीन हजार लिटर डिजेल र ४७ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको थियो ।

 

निगमले आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य समायोजन गर्दै आएको छ । सोहीअनुसार निगमले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने थियो । तर निगमले मूल्य समायोजनको निर्णय गरिसकेको छैन ।

 

निगमले अप्रिल १ तारिखको मूल्यलाई आधार मानेर पछिल्लो पटक गत चैत २२ गते मूल्य समायोजन गरेको थियो । त्यतिबेला निगमले पेट्रोल, डिजेल/मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२० रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रतिलिटर १०३ रुपैयाँ रहेको छ ।

 

नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थको मूल्य अझ बढी रहेको छ । भारतीय सीमाको रक्सौलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३०.४७ रुपैयाँ र डिजल प्रतिलिटर ३६.६३ रुपैयाँले नेपालतर्फ सस्तो रहेको छ ।

 

अहिले सरकारले पेट्रोलियम पदार्थमा लागत मूल्यको शतप्रतिशतभन्दा बढी कर लगाउँदै आएको छ । सरकारलाई करको दर घटाउन लगाएर मूल्य स्थिर गर्नुपर्ने मागसमेत बेलाबेलामा उठ्ने गरेको छ ।

 

भारतमा भन्दा नेपालमा इन्धनको मूल्य कम हुनु तथा खुला सिमानाका कारण भारततर्फ चोरी निकासी हुने सम्भावना रहेकाले पनि निगम मूल्य समायोजन गर्नैपर्ने दबाबमा छ ।

 

रुपान्तरणकारी योजना इआरपी लागू

 

निगमले रुपान्तणकारी योजनाका रुपमा लिइएको इन्टरप्राइज रिसोर्स प्लान (इआरपी) शुक्रबारदेखि लागू गरेको छ । यसबाट निगमका गतिविधिलाई पूर्ण स्वचालित प्रणालीमा जाने, आन्तरिक र बाह्य क्रियाकलापलाई एकै सफ्टवेयरबाट नियन्त्रण, सञ्चालन र अनुगमन समेतका सम्पूर्ण कार्य गर्ने गर्न सकिने छ ।

 

आफ्ना निकायलाई ‘पेपरलेस’ अवधारणामा अगाडि बढाउने तथा ‘डिजिटल नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गर्न निगमले उक्त प्रणाली लागू गरेको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । “निगमका सातै प्रदेशमा रहेको प्रादेशिक कार्यालयमा इआरपी प्रणाली लागू गरिने छ”, उनले भने, “हामीले शुक्रबारदेखि नै यसको शुभारम्भ गरिसक्यौँ, आगामी साउन १ गतेदेखि पूर्णरुपमा कार्यान्वयनमा लैजान्छौँ ।”

 

तेल र ग्यासको कारोवार गर्ने विश्वका ७० प्रतिशतभन्दा बढी संस्था, कम्पनीले यो सफ्टवेयर प्रयोगमा ल्याइरहेको उनको भनाइ छ । निगमले हाल विभिन्न कार्यका लागि भिन्नभिन्न सफ्टवेयर प्रयोग गरिरहेको छ ।

 

यसका लागि कर्मचारी प्रशासन, लेखा, बिलिङ जस्ता सफ्टवेयर प्रयोगमा रहेका छन् । अब यो नयाँ प्रणाली शुरु भएपछि त्यस्तो हुने छैन । यी सबै इकाइलाई एकै सफ्टवेयरभित्र एकीकृत गरिने छ ।

कामना सेवा विकास बैंकको नाफामा छलाङ, खुद नाफा १७२ प्रतिशतले वृद्धि Read Previous

कामना सेवा विकास बैंकको नाफामा छलाङ, खुद नाफा १७२ प्रतिशतले वृद्धि

हावाहुरीले त्रिशूलीमा निर्माणाधीन पुल उडायो Read Next

हावाहुरीले त्रिशूलीमा निर्माणाधीन पुल उडायो