खुलेआम विषादीयुक्त तरकारी आयात, परीक्षणका लागि छुट्याइएको बजेट भने फ्रिज

काठमाडौं । सरकारले विदेशबाट आयात हुने तरकारी, फलफूल लगायत वस्तुको विषदी परीक्षण गरेर मात्र भित्राउन निर्णय गरे पनि बिना परीक्षण नै आयात हुँदै आएको छ ।

 

विषादी परीक्षण पूर्वाधार निर्माण गर्नका लागि करोडौं बजेट विनियोजन गरिए पनि काम हुन नसक्दा बजेट फ्रिज भएको छ भने खुलेआम विषदीयुक्त वस्तु आयात हुँदै आएको छ ।

 

सरकारले चालू आर्थिक वर्षमा विषादी परीक्षण पूर्वाधार निर्माणका लागि १९ करोड रुपैयाँ बजेट विनियोजना गरेको थियो । सो बजेट चालू आर्थिक वर्षमा खर्च भएको छैन । चालू आवको ९ करोड रुपैयाँ फ्रिज भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा २१ करोड रुपैयाँ बजेट विषादी परीक्षण पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको थियो । उक्त वर्ष समेत बजेट पुरै फ्रिज हुन गएको थियो ।

 

खर्च गर्न नसक्ने अवस्था आएपछि रकम फिर्ता गरिएको विभागका प्रवक्ता मोहन कुमार महर्जनले बताए । उनले गत वर्ष कोभिड १९ का कारणले ठेक्का प्रकृया अघि बढ्न नसकेका कारण बजेट खर्च हुन नसकेको उनले बताए । चालू आवमा विभागले उक्त परीक्षण प्रविधि भित्राउने काम क्वारेन्टीनलाई दिने गरी कार्यक्रम संशोधनका लागि पठाएको छ ।

 

उक्त संशोधन भए लगतै क्वारेन्टाईबाट आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले उक्त विषादी परीक्षण प्रविधिको जडान गर्ने छ । विषादी परीक्षणका लागि पहिला बताए जस्तो सामग्री नभई नयाँ खालको स्क्रीन टेष्ट सामग्री किनिने उनले बताए । अबको समयमा स्क्रीन टेष्टका लागि टेष्ट किट खरिद गरिने उनले बताए । ‘हामीले पहिलेको प्रविधि परीमार्जन गरेर टेष्ट किट किनेर स्क्रीन टेष्ट सामग्री खरिद गरिने छ, त्यसबाट विषादी परीक्षण गरिने छ,’ महर्जनले भने ।

 

२०७६ असारमा सरकारले राजपत्रमा प्रकाशित गर्दै विदेशबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । विषादी परीक्षण गर्ने नीतिमा भारतले आपत्ति जनाएपछि सरकारले त्यसलाई स्थगित गरेको थियो । त्यसविरुद्ध परेको रिट निवेदनमा मागअनुसार अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चको आदेशपछि सरकारले पूर्वाधार बनाउन भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई सुम्पिएको थियो ।

 

नाकाभन्दा कैयौं किमी पर परीक्षण केन्द्र

 

देशकै ठूलो व्यापारिक नाका वीरगञ्जबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी भए/नभएको परीक्षण गर्न ७० किलोमिटर टाढा सर्लाहीको नवलपुर पुग्नु पर्छ । केन्द्रीय कृषि प्रयोगशाला नवलपुरका अनुसार वीरगन्जबाट दैनिक १५ देखि २० वटासम्म नमूना आउने गरेका छन् । जम्मा तीन जना प्राविधिकले पूर्वाधार अभावमा काम गर्नु परीरहेको छ ।

 

भैरहवा नाकाबाट आयात हुने फलफूल र तरकारीको विषादी परीक्षण २२ किलोमिटर उत्तरमा रहेको बुटवलमा हुन्छ । बाँकेको नेपालगञ्ज र कैलालीको अत्तरियामा रहेका प्रयोगशाला पनि सीमा नाकाभन्दा टाढा पर्छन् ।

 

भन्सार विभागका अनुसार, नेपालका १२ नाकाबाट आयात-निर्यात हुन्छ । तरकारी र फलफूलको विषादी अवशेष परीक्षण भने जम्मा सात ठाउँमा गरिन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

अघि बढ्दै भीमफेदी-कुलेखानी सुरुङमार्ग, ६ परामर्शदाता कम्पनी छनोट Read Next

अघि बढ्दै भीमफेदी-कुलेखानी सुरुङमार्ग, ६ परामर्शदाता कम्पनी छनोट