नयाँ वर्षमा जुर्मुरायो आन्तरिक पर्यटन, विदेशीको न्यास्रो मेट्दै स्वदेशी पर्यटक

काठमाडौं । नयाँ वर्षको दिन नेपालको आन्तरिक पर्यटन क्षेत्रमा आएको केही गम्भीर र आधारभूत परिर्वतन देखा पर्यो । नेपालमा पर्यटन भन्ने बित्तिकै विदेशी पर्यटक, ठूला होटल इत्यादि भन्ने तस्वीर मानिसहरूको दिमागमा बन्थ्यो ।

 

कोरोनाकालमा विश्वभरी पर्यटन क्षेत्र अत्याधिक प्रभावित भयो । नेपालमा पनि विदेशी पर्यटकहरूको आवागमन ठप्प भयो । काठमाडौंका पाँच तारे होटलहरू सुके । दरबारमार्गको अन्नपूर्ण होटल त लामै समयको लागि बन्दै भयो । उनीहरू अहिले रेष्टुरेन्ट मात्र चलाएर सञ्चालन खर्च धान्ने प्रयासमा छन् ।

 

तर, यस्तो विषम परिस्थितिमा पनि नेपाली पर्यटनलाई टेवा दिनको लागि आन्तरिक पर्यटन जबर्जस्त रूपमा अगाडि आयो । र, त्यो एकदमै देखिने गरी हिजो नयाँ वर्षको दिन अभिव्यक्त भयो । काठमाडौं वरपरका होटल र रिर्सोटहरू मात्र नभएर वरिपरिका जिल्लाहरूले समेत हिजो आन्तरिक पर्यटकहरूको चाप धान्न गाह्रो पर्यो ।

 

नेपालमा घुम्ने संस्कृति पुरानो होइन । ५–७ वर्षयता भने यो विस्तारै बढ्दै जाने क्रममा देखिएको थियो । काठमाडौंमा कोलाहल बढ्न थालेसँगै र रेमिट्यान्सको प्रवाहको बलमा ट्रेडिङ र सेवा क्षेत्रको विकास र विस्तार हुन थालेसँगै सहरका मानिसहरूको आम्दानीमा वृद्धि भयो, जसले आन्तरिक पर्यटनको जग हाल्यो ।

कोरोना महामारीको समयमा मानिसहरू लामो समय बाध्य भएर घर भित्रै बस्नु परेपछि भने आन्तरिक पर्यटन ह्वात्तै बढेको पर्यटन व्यवसायीहरू बताउँछन् । कोरोना भाइरसले विदेशी पर्यटकहरूको आवागमन रोके पनि आन्तरिक पर्यटनमा भने गुणात्मक फड्को मार्न सघाएको उनीहरूको बुझाई छ ।

 

आन्तरिक पर्यटनमा आएको गुणात्मक फड्कोले सहरका पाँच तारे होटलहरूभन्दा पनि उपत्यका वरपरका रिसोर्टहरू बढी लाभान्वित भएका छन् । यसैगरी काठमाडौंका छिमेकी जिल्लाहरूले पनि आन्तरिक पर्यटनको विकासको फाइदा उठाउन पाएका छन् ।

 

‘हामीले सक्व रिर्सोट वि. सं. २०६५ सालमा सानो रेष्टुरेन्टको रूपमा खोलेका हौं । समयसँगै यहाँ आन्तरिक पर्यटकहरूको चाप बढ्न थाल्यो । अहिले यहाँ खाने र बस्ने दुवै सुविधा छ । भीड धेरै भएका कारण टिकट सिस्टमकै व्यवस्था गरेका छौं,’ काठमाडौंको साँखुमा सञ्चालनमा रहेको सक्व रिर्सोटका सञ्चालक सृजन श्रेष्ठले चाणक्य पोष्टसँग भने ।

 

काठमाडौं सहरबाट नजिक रहेको, डाँडाकाँडा हेर्न सकिने, सफा र कोलाहल रहित वातावरण, मिठो खान र राम्रो सेवा भएका कारण रिर्सोटमा मानिसहरू झुम्मिन थालेको सृजनको भनाइ छ । यहाँ मात्र नभएर साँखु माथिका जहरसिंह पौवा, कात्तिके जस्ता ठाउँहरूमा पनि आन्तरिक पर्यटकहरूको केही वर्षयता चाप बढ्न थालेको सृजनको भनाइ छ । ‘कोरोनायता त आन्तरिक पर्यटनले छलाङ नै मारेको छ,’ उनले भने ।

 

‘शनिबार त यहाँ गाडीहरूको भीड नै लाग्न थालेको छ । हिजो नयाँ वर्षको दिन त मेला लागे जस्तै भएको थियो,’ साँखुका स्थानीय लकश श्रेष्ठ बताउँछन् ।

धेरै होटल र रिर्सोटहरू भएको उपत्यकाको चर्चित पर्यटकीय स्थल नगरकोटलाई पनि हिजो आन्तरिक पर्यटकहरू धान्न हम्मेहम्मे पर्यो । अरुबेला दुईजनाको लागि एउटा कोठा १०–१२ हजारमा विक्री गर्ने मिस्टिक र क्लब हिमालय जस्ता होटलहरूले नयाँ वर्षको अघिल्लो रात सोही कोठा ५५–६० हजारमा विक्री गरेका थिए । यस्ता महङ्गा कोठाहरू समेत भरिभराउ भएका थिए ।

 

‘म त परिवारसँग राम्रै होटलमा बसौं भन्ने सोचमा थिँए । तर कोठा नै पाइएन । अहिले होमस्टेमा बसिरहेको छु,’ हिजो नगरकोटमा भेटिएका काठमाडौंको एक बैंक कर्मचारी बाबु कँडेलले बताए ।

 

उपत्यका नजिकैको जिल्ला सिन्धुपाल्चोकको सुकुटेले पनि हिजो आफ्नो क्षमता भन्दा बढी आन्तरिक पर्यटक व्यवस्थापन गर्यो । करिब १५ वटा ‘विच रिर्सोट’ भएको यो ठाउँमा करिब १५ सय पर्यटक धान्ने क्षमता छ । तर यहाँ हिजो करिब ३ हजारको हाराहारीमा पर्यटकहरूको आवागमन भएको सुनकोशी विच रिर्सोटका सञ्चालक सुनिल पाठक बताउँछन् ।

 

‘हाम्रो रिर्सोटको क्षमता १०० जनाको हो । तर हामीले हतार हतार अतिरिक्त टेन्टहरूको व्यवस्था गरेर हिजो २०० जना पर्यटकहरूलाई सेवा दियौं । कोरोनायता हाम्रोमा आन्तिरिक पर्यटकहरूको आवागमन ह्वात्तै बढेको छ,’ पाठकले भने ।

 

यसैगरी उपत्यका नजिककै जिल्ला दोलखाको प्रमुखमध्ये एक पर्यटकीय गन्तव्य शैलुङमा पनि पर्यटकको ओइरो लाग्यो । नयाँ वर्षको दिन करिब ६ हजार हाराहारीम आन्तरिक पर्यटक आएको शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले बताए ।

 

‘केही वर्षयता विस्तारै आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गइरहेको थियो । हिजो भने संख्यामा एक्कासी ठूलो वृद्धि भयो,’ दुलालले भने । काठमाडौंका अलावा काभ्रे, सिन्धुपाल्चोकका पर्यटकको ओइरो लागेको उनको भनाइ छ । पर्यटकको यसरी ओइरो लाग्न थालेको भए पनि स्तरीय होटल र रिर्सोटहरूमा भने लगानी उल्लेख्य रूपमा बढिनसकेको दुलालको भनाइ छ ।

 

कोरोना महामारीको सायमा पर्यटन क्षेत्र ध्वस्तै भएको थियो । तर हरेक बादलमा चाँदीको घेरा हुन्छ भने झैं, यस्तो विषम परिस्थितिमा पनि नेपालको पर्यटन क्षेत्र धान्न मेरुदण्ड कै रूपमा आन्तिरिक पर्यटनको उदय भएको संकेतहरू देखा पर्न थालका छन् ।

अनलाइनबाटै यसरी हेर्नुहोस् आफ्नो जग्गाको नक्सा, प्रिन्ट गर्न पनि मिल्ने Read Previous

अनलाइनबाटै यसरी हेर्नुहोस् आफ्नो जग्गाको नक्सा, प्रिन्ट गर्न पनि मिल्ने

४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीलाई आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँछ ? Read Next

४ वटा हाइड्रोपावर निर्माण गरिरहेको कम्पनीलाई आइपीओ जारी गर्न अनुमति, कति कित्ता आउँछ ?