हतारमा आत्मनिर्भर घोषणा, मासुजन्य पशुपन्छीको आयात भने बढ्दो

काठमाडौं ।नेपाललाई मासुजन्य पशुपन्छी उत्पादनमा आत्मर्निभर घोषणा गरिए पनि आयात भने वर्षेनी बढ्दै गएको छ ।गत महिना मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पशुपन्छीमा आत्मनिर्भर भएको घोषणा गरेका थिए । उनले ‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर’ उल्लेख गरे पनि भन्सार विभागको तथ्यांकले भने वर्षेनी आयात बढेको देखाएको छ ।

 

भन्सार विभागकै तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउन–फागुन)मा १ अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरको मासुजन्य जिउँदो जनावर आयात गरिएको छ । सो मूल्य बराबरको ९ लाख ५ हजार वटा पशुपन्छी आयात भएका छन् ।

 

सो अवधिमा १ अर्ब रुपैयाँ बराबरको मात्र कुखुराका चल्ला आयात भएका छन् । उक्त रकममा ८ लाख ९४ हजार वटा कुखुराका चल्ला आयात भएका हुन् ।

 

यस्तै, ७ करोड ४४ लाख रुपैयाँ बराबरको खसी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो रकममा १० हजार १५० वटा खसी आयात गरिएको हो । साथै १ अर्ब १७ करोड रुपैयाँको माछा र १ अर्ब ३३ करोड रुपैयाँको डेरी उत्पादन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

 

यस अघि गत आर्थिक वर्ष २०७६/७७ को ८ महिनामा ९३ करोड ३९ लाख ५२ हजार रुपैयाँ बराबरको जिउदा पशुपन्छी आयात भएको थियो । सो अवधिमा सरकारले १० लाख २९ हजार वटा जिउँदो जनावर भित्राएको थियो ।

 

गत वर्ष ७७ करोड रुपैयाँ बराबरको मात्र कुखुराका चल्ला आयात भएका थिए । सो मूल्य बराबरको १० लाख १६ हजार वटा कुखुराका चल्ला आयात गरिएका थिए ।यस्तै खसी १२ करोड २० लाख रुपैयाँ बराबरको १० हजार २९२ वटा आयात भएको थियो । साथै भेडा १ करोड २५ लाख रुपैयाँ बराबरको २ हजार २११ वटा आयात भएको थियो ।

 

गत आर्थिक वर्षमा कुल ९५ करोड ५७ लाख रुपैयाँ बराबरको जिउदो पशुपन्छी आयात भएका थिए । सो मूल्यमा १० लाख ६१ हजार वटा बढि पशुपन्छी आयात भएका थिए ।

 

सो वर्ष कुखुराका चल्ला ७९ करोड २१ लाख रुपैयाँ बराबरको १० लाख ४८ हजार वटा आयात गरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस्तै सो वर्ष १२ करोड रुपैयाँ बराबरको १० हजार वटा खसीबोका आयात भएका थिए । साथै १ करोड २५ लाख रुपैयाँ बराबरको २ हजार २ सय ११ वटा भेडा आयात भएको थियो ।

विश्व बजारमा फस्टाउँदै चीनको व्यापार, निर्यात ३१ प्रतिशतले बढ्यो Read Previous

विश्व बजारमा फस्टाउँदै चीनको व्यापार, निर्यात ३१ प्रतिशतले बढ्यो

अनलाइनबाटै यसरी हेर्नुहोस् आफ्नो जग्गाको नक्सा, प्रिन्ट गर्न पनि मिल्ने Read Next

अनलाइनबाटै यसरी हेर्नुहोस् आफ्नो जग्गाको नक्सा, प्रिन्ट गर्न पनि मिल्ने