आन्तरिक पर्यटक तान्दै ५ तारे होटल, रेष्टुरेन्टको भाउमै खाना (अफरसहित)

काठमाडौं । कोरोना महामारीले सबैभन्दा प्रभाव पारेको क्षेत्र हो पर्यटन क्षेत्र । त्यसमा पनि होटल र रेष्टुरेन्ट क्षेत्रलाई महामारीले अत्याधिक प्रभाव पारेको छ । यही प्रभावका कारण काठमाडौंको मुटुमा रहेको पाँचतारे होटल अन्नपूर्ण लामैसमयको लागि बन्द भइसकेको छ ।

 

महामारीको प्रभाव केही सुस्ताएसँगै नेपालमा आन्तरिक पर्यटनले गति लिन थालेपछि उपत्यका छेउछाउका रिसोर्ट र होटलहरूमा भने चमक आउन थालेको थियो । तर केही दिनयता कोरोनाको दोस्रो लहर नेपालमा पनि शुरु भएसँगै त्यहाँ पनि त्रासको वातावरण व्याप्त छ ।

 

विदेशी पर्यटकहरूको आवगमन शून्य जस्तै भएको यो समयमा काठमाडौंका ठूला होटलहरू भने अझै पनि उठ्न सकेका छैनन् । पर्यटक नआएपछि उनीहरूले पनि आन्तरिक पाहुनाहरूलाई नै लक्षित गर्दै होटलका रेष्टुरेन्टहरूमा विभिन्न अफरहरू ल्याउन थालेका छन् ।

 

अहिले नेपाली नयाँ वर्षको अवसरमा पनि उनीहरूले आन्तरिक पाहुनाहरू लक्षित यस्तै विभिन्न अफरहरू ल्याएका छन् । काठमाडौंको दरबारमार्गमा रहेको याक एण्ड यती होटलले नयाँ वर्षको अघिल्लो साँझमा सांगितिक कार्यक्रम सहितको डिनरको अफर ल्याएको छ । त्यहाँ नयाँ वर्षको उपलक्ष्यमा बुफे डिनरको लागि एक जनाको लागि २२०० रुपैयाँ र दुईजनाको लागि सोही डिनर ४००० रुपैयाँको अफर ल्याइएको छ ।

 

यसका अलावा नयाँ वर्षको दिनमा दिउँसोको बारबीक्यू खानाको (ब्रन्च) लागि दुईजनाको लागि ६५०० रुपैयाँको अफर पनि होटलले ल्याएको छ । यो मूल्यमा असीमित बियर र वाइनको अफर होटलले ल्याएको छ ।

 

यस्तै, नेपालको पुरानो पाँच तारे होटल मध्येको सोल्टी होटलले पनि नयाँ वर्षमा लाइभ म्युजिकको अफर ल्याएको छ । होटलले ३९९९ रुपैयाँमा एकजनाको लागि असीमित सफ्ट ड्रिङ्क्स सहितको खाना र ६९९९ रुपैयाँमा असीमित मदिरा सहितको खानाको अफर ल्याएको छ ।

 

काठमाडौंको लाजिम्पाट स्थित होटल सांग्रिलाको पनि अफर कम्तीको छैन । होटलले एक रात र दुई दिनको बसाइ सहितको प्याकेज ल्याएको छ । यो अफर जोडीको लागि भएको होटलले जनाएको छ । ११,९९९ रुपैयाँको यो प्याकेजमा एक दिनको सुताई, दुई दिनको बसाई, ब्रेकफास्ट र बार्बिक्यु डिनर रहेको छ ।

 

सोही स्थानको रहेको अर्को होटल र्याडिसनले पनि २५०० रुपैयाँको अफर ल्याएको छ । यस अफरमा २ बोतल वियर वा एक बोतल वाइन पनि सम्मिलित रहेको होटलले जनाएको छ । दुईजनाको बसाईको लागि भने होटलले ७९९९ रुपैयाँको अफर अगाडी ल्याएको छ । यसका ब्रेकफास्ट पनि सम्मिलित छ ।

 

नक्सालको मेरियट होटलले पनि नयाँ वर्षको दिन प्रति व्यक्ति २२०० रुपैयाँको लञ्चको अफर ल्याएको छ । यसैगरी हायात रिजेन्सीले भने २९०० रुपैयाँ प्रतिव्यक्तिको प्याकेज ल्याएको छ । यो अफर अप्रिल १३ तारिखको बेलुकी ६ बजेदेखि लागू हुनेछ । असीमित मदिराको लागि भने प्रति व्यक्ति १००० रुपैयाँको अफर होटलले ल्याएको छ ।

 

कोरोनाको दोस्रो लहर नेपालमा पनि देखा पर्न थालेपछि होटल व्यवसायीहरू अत्तालिन थालेका छन् । विदेशी पर्यटकहरू आउन बन्द रहेको यो समयमा उनीहरूले जेनतेन आन्तरिक पाहुनाहरूलाई विशेष गरी खाना खुवाएर मात्र भए पनि होटल सञ्चालन गर्ने रणनीति अपनाइरहेका छन् ।

ब्राण्डेड मात्र सामान बेच्ने नयाँ इकमर्श कम्पनी श्रृंगार डटकम संचालनमा Read Previous

ब्राण्डेड मात्र सामान बेच्ने नयाँ इकमर्श कम्पनी श्रृंगार डटकम संचालनमा

यी ठाउँमा मेलम्चीको पानी वितरण गर्न अझै १ महिना लाग्ने, पाइप बिच्छ्याउनै बाँकी Read Next

यी ठाउँमा मेलम्चीको पानी वितरण गर्न अझै १ महिना लाग्ने, पाइप बिच्छ्याउनै बाँकी