काठमाडौं । नेपालको एक औषधि उद्योगले दर्ता नै नगरी अवैध रूपमा पशुपन्छीको औषधि उत्पादन र विक्री–वितरण गरिरहेको खुलासा भएको छ । उक्त उद्योगले नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता नै नगरी औषधिको उत्पादन गरी विक्री–वितरण गरेको पाइएको हो ।
यो गैरकानुनी काममा चितवनको भरतपुरमा रहेको लाइभकेयर फर्मास्युटिकल्स प्रालि संलग्न रहेको भेटिएको छ । ‘टाइमोलिभ ८०’ नामक औषधि विभागको दर्ता रेकर्डमा नभए पनि लाइभकेयरले स्थापनाकालदेखि नै यसको उत्पादन र विक्री–वितरण गरिरहेको छ ।
नेपालको प्रचलित कानुनअनुसार औषधि व्यवस्था विभागमा उत्पादन अनुमतिका लागि निवेदन पेश गरेपछि प्रक्रियागत रूपमा विभागले अनुमति दिएको अवस्थामा मात्र औषधिको उत्पादन र विक्री–वितरण गर्न पाइने व्यवस्था छ । तर कानूनी व्यवस्थाविपरीत चितवनको लाइभकेयर फर्मास्युटिकल्सले नेपालभरका भेटेरिनरी पसलहरुमा कुखुराको श्वास–प्रश्वास रोगविरुद्ध प्रयोग हुने उक्त औषधि विक्री–वितरण गरिरहेको छ ।
नेपालमा पशुपन्छीको औषधि उत्पादन र वितरणमा लाइभकेयर फर्मास्युटिकल्सले अग्रणी स्थान ओगटेको छ । तर यही कम्पनीले देशको प्रचलित कानुनकै बर्खिलाप हुनेगरी वर्षौंदेखि खुलेआम उक्त अवैध एन्टिबायोटिक्स उत्पादन र वितरण गरेको छ ।
औषधि व्यावस्था विभाग स्रोतका अनुसार लाइभकेयर फर्मास्युटिकल्सले विभागबाट करिब २० वटा औषधि उत्पादनको अनुमति लिएको छ । अनुमति २० वटाको लिए पनि उत्पादन र विक्री वितरण भने ६० प्रकारका औषधिको गर्दै आएको छ ।
प्रचलित औषधि ऐनको परिच्छेद ४ मा औषधि उद्योग स्थापना गर्न सिफारिसपत्र लिनुपर्ने, औषधि उत्पादनका लागि अनुज्ञापत्र लिनुपर्ने र उत्पादन गरिने औषधि दर्ता गर्नुपर्ने व्यवस्था छ । तर, त्यसको कार्यान्वयन निकै फितलो छ ।
उक्त कम्पनीले उत्पादन गरेको व्याच नम्बर ‘टीएएम ०१३’ मा उत्पादन मिति जनवरी २०२१ रहेको टाइमोलेन (टाइमोलिभ) को मात्रा ८० प्रतिशत रहेको औषधि प्राप्त भएको छ । ५ सय ग्राम र हजार ग्राम तौलमा प्याकिङ गरी विक्री–वितरण गरिरहेको उक्त औषधिकोे मूल्य १४ हजार रूपैयाँ प्रतिकेजीमा विक्री–वितरण भइरहेको छ ।
कच्चा पदार्थ आयात गर्न नक्कली सिफारिसपत्र
लाइभकेयर फर्मास्युटिकलले टाइमोलिनलगायत औषधि व्यवस्था विभागमा दर्ता नरहेको २५ प्रकारका औषधि उत्पादन गर्न आवश्यक कच्चा पदार्थ भारतबाट आयात गरिरहेको छ । कम्पनी एरिया सेल्स म्यानेजरका रूपमा करिब २ वर्ष काम गरेर कम्पनी छाडेका एक प्रतिनिधिका अनुसार, उत्पादन अनुमति नभएका औषधि बनाउन चाहिने कच्चा पदार्थ भारतबाट ल्याउने गरिएको छ । तर त्यस्ता कच्चा पदार्थ आयात गर्न सिफारिस नभएको हुँदा अन्य उत्पादनका लागि औषधि व्यवस्था विभागले दिएको सिफारिसपत्रमा स्क्यान गरी नाम परिवर्तन गरेर आफैंले नक्कली सिफारिसपत्र बनाउने गरेको छ ।
नेपाल राष्ट्र बैंकको आयात–निर्यातसम्बन्धी निर्देशिकामा बाह्य मुलुकबाट मालवस्तु आयात गर्दा औषधिको हकमा औषधि व्यावस्था विभागको सिफारिसपत्र अनिवार्य आवश्यक पर्ने उल्लेख छ ।
दर्ता नरहेको प्रबन्धकको स्वीकारोक्ति
उक्त कम्पनीका प्रबन्ध निर्देशक राजु पौडेलले आफूहरूले अब उक्त औषधि उत्पादन नै नगर्ने निर्णय लिएको बताए । ‘त्यो हाम्रै उत्पादन हो र त्यसका लागि औषधि उत्पादनको अनुमति लिएका छैनौं,’ उनले भने, ‘मलाई विभागका सूचना अधिकारी सन्तोष के.सीबाट पनि फोन आएको थियो ।
पौडेल तिनै व्यक्ति हुन्, जो चितवन उद्योग संघका अध्यक्षसमेत छन् । संयोग कस्तो भने यही कम्पनीका अध्यक्ष मित्रराज दुवाडी आफैं पनि कुनै बेला उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष थिए ।
नेपाल पशुपन्छी फिड सप्लिमेन्ट उत्पादक संघका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीले औषधि व्यवस्था विभागमा दर्ता नभएको औषधि उत्पादन गर्ने अधिकार कसैलाई नहुने बताए । ‘हाम्रो संघले आफ्ना सदस्यले उत्पादन गर्ने फिड सप्लिमेन्टबारेमा निगरानी गर्छ,’ उनले भने, ‘तर कसैले वा कुनै पनि संघभित्र रहेका कम्पनीले कानुनविपरीतका काम गर्ने, उत्पादन गरेर बजार पठाउने गरेको छ भने त्यस्ता उद्योग वा कम्पनीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ, त्यो दण्डनीय छ ।’
उद्योगी व्यवसायीले उद्योगमैत्री नीति निर्माण गर्न सरकारलाई भनिरहँदा आफूले पनि असल व्यावसायिक तथा औद्योगिक अभ्यास गर्नुपर्ने उनले बताए । ‘गलत काम कसैले गरेको छ भने उसलाई कारबाही गर्नुपर्छ,’ उनले भने, ‘तर यो सम्पूर्ण क्षेत्रलाई नै एकमुष्ठ आक्षेप लगाउनु राम्रो हुँदैन ।’
औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीबाट हस्ताक्षर गरेर भेट टाइम्सलाई प्राप्त पत्रमा लाइभकेयरले उत्पादन गरेका उक्त औषधि नेपालमा दर्ता नै नभएको उल्लेख छ ।