काठमाडौं । निकट भविष्यमै ६० करोड रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरिरहेको सानीमा लाइफ इन्स्योरेन्सले रेटिङ सम्पन्न गराएको छ ।
कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।
बीमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ ल्याउने भएको हो ।
कम्पनीले आइपीओ जारी गर्न यसअघि नै साधरण सभाबाट प्रस्ताव पारित गरिसकेको छ । यद्यपि, अहिलेसम्म कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छैन ।
हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।