विलासी जीवन जिउनेका लागि विश्वकै महँगा सहरहरूको ‘हब’ बन्दै एशियाली सहर

काठमाडौं । यदि तपाईंं अहिले धेरै धनी हुनुहुन्छ भने तपाईं बस्नको लागि सबैभन्दा महङ्गो सहर एशिया प्रशान्त क्षेत्र भएको छ । अहिलेको अवस्थामा विलासी जीवन बिताउनेको लागि यो क्षेत्र सबैभन्दा महङ्गो भएको छ । अहिले सांघाइले सबैभन्दा महङ्गो सहरको रूपमा हङकङलाई उछिनेको छ ।

 

जुलियस बयर ग्रुपले गरेको एक अध्ययनले केही तथ्यहरू सार्वजनिक गरेको छ । यो क्षेत्र कोरोना भाइरसको प्रभावबाट तुलनात्मक रूपमा चाँडै निस्केका कारण यहाँको विलासी जीवन अन्यत्र भन्दा महङ्गो रहेको अध्ययनको निष्कर्ष रहेको छ । यसको ठीक उल्टो उत्तर र दक्षिण अमेरिकी क्षेत्र मुद्रामा आएको अवमूल्यनका कारण तुलनात्मक रूपमा सस्तो भएका छन् ।

 

‘एशियाली सहरहरू अहिले महङ्गो छन् । यी सहरहरूले कोरोना भाइरसबाट तुलनात्मक रूपमा चाँडै पार पाएका कारण यस्तो भएको हो,’ जुलियस बयरका राजेश मनवानी भन्छन्, ‘त्यसैले यी सहरहरू अहिले अरुभन्दा सामान्य छन् ।’

 

संसारभर फैलिएको कोरोना महामारीले धेरैको काम खोसेको छ भने केहीलाई झन् धनी पनि बनाएको छ । लकडाउनको समयमा ‘टेक’ क्षेत्रका व्यवसायीहरूले धेरै कमाएका छन् ।

विश्वका ५०० धनी मानिसहरूले गत वर्ष १.८ ट्रिलियन डलर सम्पत्ति थपेका छन् । टेस्लाको एलन मस्क र अमेजोनका जेफ बेजोसले अत्याधिक कमाएका छन् ।

 

पर्यटन क्षेत्रमा आएको मन्दीका कारण होटलका सुइटहरूको मूल्यमा ९.३ प्रतिशतले गिरावट आएको छ । तर जहाजको बिजनेश क्लासको टिकटको मूल्य भने ११ प्रतिशत महङ्गो भएको छ । महिलाले लगाउने ‘फ्यान्सी’ जुत्ताको मूल्य भने १२ प्रतिशतले घटेको छ ।

 

सांघाइ अहिले विश्वको सबैभन्दा महङ्गो सहर भएको छ, गत वर्ष मूल्य ६ प्रतिशतले बढेपछि । हङकङ स्थिर छ । सांघाइमा विश्वका अन्य क्षेत्रको भन्दा ठ्याक्कै उल्टो बिजनेश क्लासका उडानहरू ८२ प्रतिशतले बढेका छन् भने होटलका सुइटहरूको मूल्य १५ प्रतिशतले बढेका छन् ।

 

समग्रमा भने विलासी जीवन बिताउनेहरूको लागि सन् २०२० मा १ प्रतिशतले महङ्गो भएको छ । सांघाइले भने कोरोना महामारीको प्रभावलाई छिट्टै न्यूनीकरण गरेका कारण यहाँको विलासी जीवनको लागत बढी देखिएको छ ।

 

जुलियस बियरको अध्ययनले धनी मानिसहरूले प्रयोग गर्ने २० वटा विलासी वस्तुहरूको मूल्य र तिनमा आएको बढोत्तरीका आधारमा विलासी जीवनको लागतको मूल्याङ्कन गरेको थियो ।

निफ्राको प्रमोटर सेयर होल्डर इमर्जिङ नेपालको आइपीओ आउँदै Read Previous

निफ्राको प्रमोटर सेयर होल्डर इमर्जिङ नेपालको आइपीओ आउँदै

आफ्नै देशका व्यापारीलाई चीनले गर्‍यो इतिहासकै ठूलो कारबाही, अलिबाबामाथि सवा ३ खर्ब जरिवाना Read Next

आफ्नै देशका व्यापारीलाई चीनले गर्‍यो इतिहासकै ठूलो कारबाही, अलिबाबामाथि सवा ३ खर्ब जरिवाना